मोरङको धनपालथानमा शंकास्पद अवस्थामा पाँच वर्षीया बालिकाको शव शनिबार बिहान फेला परेको छ।
धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदार मृत अवस्थामा शनिबार बिहान ५ बजेतिर भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्। उनका अनुसार नाबालिका सरदार हराएको खबर शनिबार बिहान राति ३ बजेतिर कर्सिया प्रहरी चौकीमा आएको र तत्कालै खोजी गर्दै जाँदा बिहान ५ बजेतिर शव फेला परेको थियो।
मृतक बालिकाका बुवाआमाले भाइ (बालिकाको काका)लाई जिम्मा दिएर मोरङकै कहटरीमा रहेको ससुराली घर (श्रीमतीको माइत) गएको बताउँदै डिएसपी चुँडालले भनिन्, ‘घरमा बालिकालाई काकाको साथमा छाडेर गएका रहेछन्। शनिबार बिहान ३ बजेतिर काकाले कर्सिया प्रहरी चौकीमा बालिका (भतिजी) हराएको भनेर खबर गरेका थिए। तत्कालै बालिकाको खोजी गर्दै जाँदा बिहान ५ बजेतिर शव भेटियो।’
घरदेखि करिब १ सय मिटर पर दुर्गा अधारभूत विद्यालयको बाहिर बाटोको छेउमा बालिकाको शव फेला परेको थियो। घटनास्थल र बालिकाको शव हेर्दा बाहिरी चोटपटक केही नदेखिएको बताउँदै डिएसपी चुँडालले भनिन्, ‘तत्काल हेर्दा बालिकाको शरीरमा घाउ, चोटपटक देखिँदैन। तर, घरबाट कसरी हराइन्, कसरी मृत्यु भयो भन्ने सम्बन्धमा पोस्टमार्टम र अन्य अनुसन्धानबाट खुलेपछि मात्रै प्रस्ट हुन्छ।’
बालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको संयुक्त टोली घटनास्थल पुगेर थप अनुसन्धान थालिसकेको डिएसपी चुँडालले बताइन्। अनुसन्धान र पोस्टमार्टमको रिपोर्टपछि मात्रै घटनाको यकिन कुरा बाहिर आउने उनले बताइन्।
नाबालिकाको बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ। अभिभावकसँगै सुतिरहेकी नाबालिका एक्कासी हराउनु र मृत अवस्थामा फेला पर्नु नै शंकास्पद रहेको प्रहरी स्रोतले भन्यो। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले बलात्कारपछि बालिकाको हत्या भएको जस्तो देखाए पनि पुष्टि हुन बाँकी छ। अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोट रहेको अवस्थामा नाबालिकाको शव फेला परेको बताउँदै प्रहरी स्रोतले भन्यो, ‘पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट घटनाको यथार्थ आउने छ।’
प्रकाशित: १४ असार २०८२ १२:२५ शनिबार





