सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतको सरकारी निवासमा आयोजित विवादित पार्टीको विषयलाई लिएर प्रहरी प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको निर्देशनपछि मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ।
समितिले पार्टी आयोजनाको उद्देश्य, त्यसमा सहभागी व्यक्तिहरू र प्रहरी आचरणविपरीत कुनै कार्य भए/नभएकोबारे विस्तृत अनुसन्धान गर्नेछ।
यस विषय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उठेको थियो। समितिका सभापति रामहरि खतिवडाले आईजीपी थापासँग जवाफ मागेपछि उनले तत्काल मधेस प्रदेशका डीआईजीलाई छानबिन गर्न निर्देशन दिएको जानकारी गराएका थिए।
आईजीपी थापाले भने, ‘इन्स्पेक्टरको जन्मदिन डीएसपीको क्वार्टरमा मनाइएको फोटो आएको छ। यो अलि अगाडिको घटना भए पनि आज सार्वजनिक भएको हो। यसलाई हामीले नोटिसमा लिएर छानबिन थालिसकेका छौँ।’
बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिनमा राजविराज नगरपालिका–६ का आकाश आदर्श अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक मनिष श्रेष्ठसँग देखिएका थिए। उनको जन्मदिन भन्दै डीएसपी बस्नेत कोठामा पार्टी आयोजना गरिएको थियो।
एक महिनाअघिकै घटना भएपनि हालसम्म यो विषय सार्वजनिक भपछि छानबिन सुरु भएको हो।
प्रकाशित: ११ असार २०८२ १७:०३ बुधबार





