२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

पर्यटन विकासमा जुट्दै जिर्मले

देशकै लोपोन्मुख लेप्चा मेतको मुख्य बसोवास रहेको रोङ गाउँपालिका– ६ (जिर्मले) ले कृषि, प्रकृति र संस्कृतिलाई पर्यटनको आधार बनाएर नवीन योजना तयार गरेको छ । वडाले प्राकृतिक सौन्दर्य, कृषिले उन्नत जीवनशैली र बहुसांस्कृतिक विशेषतालाई पर्यटक पल्काउने माध्यम बनाउँदै छ ।

वडाले विशेषगरी लोपोन्मुख लेप्चा, तामाङ, राई, सुनुवार जातिको संस्कृति संरक्षण गर्दै कृषि र जैविक विविधतालाई पनि पर्यटक लोभ्याउने मेलो मिलाएको हो । झन्डीडाँडा जस्तो प्राकृतिक सौन्दर्यको खानी रहेको यो वडामा बहुसांस्कृतिक पार्क र सांस्कृतिक सर्किट निर्माणको काम अघि बढाइएको हो । भारतीय सीमा र झापासमेत छुने गाउँपालिकाकै महत्वपूर्ण योजना करसोङ पदमार्गको पनि सबैभन्दा धेरै दूरी यही वडामा पर्छ । वडाले यहाँ आउने पर्यटकलाई वडामै लामो समय अड्याउने प्रयासमा नयाँ प्रोडक्ट थपेको हो ।

अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ । पार्कलाई लोपोन्मुख लेप्चा समुदायसहित सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष सत्यम राई चौरासे बताउँछन् । जिर्मलेको डाँडामा तीन रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको बहुसांस्कृतिक पार्क स्थानीय लेप्चा, तामाङ, राई, नेवारलगायत दर्जनौं जातजातिको पवित्रस्थलका रूपमा विकास भइरहेको उनको भनाइ छ । पार्कमा स्थानीयस्तरमा लोप हुन लागेको धर्म, संस्कृति, विभिन्न जातीय रीतिरिवाजलगायतको पहिचान झल्किने संरचना विकास गरिँदैछ । स्थानीय समुदायको एकता तथा सहकार्य प्रवद्र्धन गर्न संग्रहालयसहितको बहुसांस्कृतिक पार्कले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

‘नयाँ पुस्तामा सांस्कृतिक झुकाव बढाउनसमेत यो पार्कलाई माध्यमका रूपमा विकास गरिँदै छ’, उनले भने, ‘पर्यटन, आर्थिक विकास, स्थानीय क्षेत्रको उजागर र समुदायको एकता तथा सहकार्य प्रवर्द्धन गर्न पार्क स्थापना गरिँदै छ’, उनले भने, ‘पार्कका माध्यमबाट स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने, स्थानीय क्षेत्रको भौतिक विकास र प्रगतिले गाउँको प्रतिष्ठा बढाउने तथा कतिपय स्थानीयको खेर गइरहेको समयसमेत रचनात्मक काममा उपयोग हुनेछ ।’ इलाम मात्र होइन, नजिकै रहेका झापा र भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेतलाई आकर्षित गर्ने आशा गरिएको यो ठाउँ विभिन्न जातजातिको संस्कृति अध्ययन थलोका रूपमा समेत विकास गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ ।

पार्कका माध्यमबाट स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने, स्थानीय क्षेत्रको भौतिक विकास र प्रगतिले गाउँको प्रतिष्ठा बढाउने पार्क अध्यक्ष दलबहादुर योञ्जनले बताए । ‘गाउँ, सहर र समुदायमा सहकार्य, मेलमिलाप, भाइचारा विकास गर्न पार्कले सेतुको काम गर्ने आशा छ’, उनले भने, ‘पार्कसँगै रहने संग्रहालयमा विभिन्न जातजातिको इतिहास र संस्कृति झल्काउने सामग्री संगृहित छन् ।’

एउटै ठाउँमा धेरै जाति–संस्कृतिको विशेषता अध्ययन–अवलोकन गर्न सकिने, सामाजिक सशक्तीकरण गर्दै समाजमा सकारात्मक कार्य वातावरण तयार गर्न महत्वपूर्ण थलोका रूपमा रहने अर्का स्थानीय मनबहादुर लाप्चाले बताए । ‘संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो’, उनले भने, ‘त्यसकै लागि हामी स्थानीय सबै समुदाय मिलेर पार्क निर्माणमा जुट्ने निर्णय गरेका हौं ।’ पार्कसम्म आउने पर्यटक स्थानीय समुदायले व्यवस्थापन गरेका होमस्टेमा खान–बस्न पाउनेछन् । स्थानीय तामाङ, लेप्चा, राई, नेवारलगायतका लोक–सांस्कृतिक कला–कौशल पनि पर्यटकले अवलोकन गर्नेछन् । ‘स्थानीय राम योञ्जनले सबै जातिको फूलबारीमा रूपमा वडालाई विकास गर्न पार्क निर्माण गर्दैछौं’, उनले भने ।

झन्डीडाँडा यहाँको अर्काे प्रमुख पर्यटकीयस्थल हो । झन्डीडाँडाले अर्गानिक पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाइरहेको छ । ‘गाजलेथुम्का’ पनि भनिने झन्डीडाँडा यो वडाको मात्र होइन, करसोङ पदमार्गमा पर्ने ठाउँमध्येकै प्रमुख र आकर्षक पर्यटकीयस्थल हो । एक हजार तीन सय ९६ मिटर उचाइमा रहेको झन्डीडाँडाबाट कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ । पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लंग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडा हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिँदै छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ भने आकर्षक रेलिङ र प्रतीक्षालय बनाइएको छ । बिजुली, खानेपानी र शौचालयको सुविधा पनि पुर्‍याइएको छ ।

यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम भएकाले पर्यटकको घुइँचो लाग्ने गरेको छ । मेची राजमार्गको हर्कटेबाट झन्डीडाँडासम्म मोटरमा पुग्न सकिन्छ भने हाँसपोखरीबाट करसोङ पदमार्ग हुँदै पैदल हिँडेर पनि पुग्न सकिन्छ । झन्डीडाँडा आउने पर्यटक धजे भञ्ज्याङ आसपासका होमस्टेमा वास बस्न सक्छन् ।

तराई र पहाडकै पायक पर्ने ठाउँमा रहेको झन्डीडाँडा झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा पर्छ । भारतबाट समेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । चुरे क्षेत्रमा यो उचाइको डाँडो बिरलै पाइने गरेकाले पनि झन्डीडाँडाको महत्व उसको उचाइभन्दा धेरै गुणा चुलिएको छ । यहाँबाट पर्यटकीय कन्याम, अन्तुडाँडा, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहर मात्र नभई भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा र टिस्टा नदी पनि नियाल्न सकिन्छ ।

धार्मिक र सांस्कृतिक हिसाबले समेत महत्वपूर्ण झन्डीडाँडा किराँत राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा परिचित छ । किरातीहरूले उँधौली, उभौलीजस्ता पर्व, सांसारिक पूजा, ढोलपूजा गर्दा झन्डीडाँडाको छेउमा ध्वजापताका झन्डा गाढ्ने चलनले यहाँको सांस्कृतिक विशेषता बोकेका छन् । त्यही चलनअनुसार संस्कार र पूजाविधि सकेपछि यो डाँडामा झन्डा गाड्ने गरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको बुुढापाका बताउँछन् । अहिले पनि यहाँ साकेला थान छ भने उँधौली र उभौलीमा पूजा गर्ने गरिएको छ । झन्डीडाँडा आसपासका पहरामा २०७८ सालमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ ।

यही वडामा सांस्कृतिक सर्किट अवधारणासमेत विकास भएको छ । वडाकै मिनी माउन्टेनबाट सुरु हुने करिब १६ किलोमिटरको यो दूरीभित्र एकै यात्रामा दर्जनभन्दा बढी जाति–संस्कृति अवलोकन गर्न सकिन्छ । मिनी माउन्टेनदेखि लिम्बूगाउँ, राई गाउँ, लेप्चा गाउँ, थापा गाउँ, लामा गाउँ, रम्भ्याङ, धजे भञ्ज्याङ, झन्डीडाँडा, सलकपुर हुँदै यो सर्किट भारतको सीमा ब्युटी बोर्डरसम्म पुग्छ । करिब गोलो आकारको यो सर्किटले वडा नं ६ को रिङरोडकै रूपमा फन्को मारेको छ ।

संस्कृति र पर्यटनको जीवन्त पाठशालाका रूपमा विकास भइरहेको जिर्मले सांस्कृतिक सर्किटमा अहिले पनि विभिन्न ठाउँबाट हुलका हुल पर्यटक आइरहेको स्थानीय जीवन राई बताउँछन् । सहरको कोलाहलबाट शान्त रहन र तराईको उखर्माउलो गर्मी छल्न मात्र होइन, जाडो महिनामा तराईमा लाग्ने बाक्लो हुस्सुको कठ्यांग्रिँदो चिसोबाट बच्दै न्यानोमा रमाउन पनि जिर्मले सर्किट पर्यटकको रोजाइ बनिरहेको छ । यो सर्किटमा पदयात्रा गर्ने पाहुनाले आलु, तरुल, फापरका रोटी, भुटेका मकै, गुन्द्रुक, लोकल कुखुराको मासु, सुकुटी र स्वादअनुसार स्थानीय उत्पादनबाट बनका जाँड, रक्सी, तोङ्बासमेत चाख्न पाउने उनले बताए ।

‘यो सर्किटमा एड्भेन्चर यात्रा गर्ने खालका कहालीलाग्दा भीर–पहरा, डाँडाकाँडा, हजारौं जातका बोटबिरुवा अनि धार्मिक र पर्यटकीय स्थल पर्छन्’, उनले भने, ‘पदमार्ग वरपर वनजंगल, अलैंची, अदुवा, अम्सिलो, अकबरे, आलु, कुरिलो र अर्थाेडक्स चियाका बोट देख्न सकिन्छ ।’ पर्यटकले आफैं गाई दुहुने, गोबर सोर्ने, घाँस काट्ने र कुटो–कोदालोको अनुभव गर्ने अवसरसमेत पाउने उनको भनाइ छ ।

जिर्मले सांस्कृतिक सर्किटको अवधारणा तीन वर्षअघि सुरु भएको हो । झापाको मेचीनगर नगरपालिकासँग जोडिएको रोङ– ६ स्थित मिनी माउन्टेन यो सर्किटको पहिलो विन्दु हो । त्यहाँबाट १० मिनेट पैदलयात्रा गरेपछि खारखोला पुगिन्छ । खारखोला ९५ प्रतिशतभन्दा बढी लिम्बू समुदाय रहेको बस्ती हो । यहाँ स्थानीयले पर्यटकलाई च्याब्रुुङ बजाउँदै पालाम गाएर स्वागत गर्छन् अनि याङ्वेन र सार्गेम्बाजस्ता आफ्नै परिकार पनि चखाउँछन् । यहाँको कुवापानी पदयात्रीको खाना खाने ठाउँ हो । खानामा पनि पर्यटकको रोजाइअनुसार स्थानीय उत्पादन नै समावेश गर्ने गरिएको व्यवसायी बताउँछन् । यहाँबाट पनि केही माथि उक्लिएपछि अर्काे ऐतिहासिक स्थल भुतालुङ पुगिन्छ । भुतालुङ ढुंगाको इतिहास सुनेपछि अलि मास्तिर आउँछ कालो चौतारी । यो चौतारी उहिले बुढापाकाले झापाबाट इलामसम्म नुनचामल बोकेर ल्याउँदा डोको बिसाउने ठाउँका रूपमा परिचित छ । त्यही इतिहास संरक्षण गर्न यहाँ डोकोकै आकृतिमा ढुंगाको कला सिर्जना गरिएको छ ।

साँझ बास बस्न यहाँबाट अझ मास्तिरको थापा गाउँ आइपुगिन्छ । यहाँ प्राय: क्षेत्रीको मात्रै बसोवास छ । यहाँका केही घरमा व्यवस्थापन गरिएका होमस्टेमा ४० जनासम्म अटाउन सक्छन् । यही सर्किटमा पर्ने राई, लोपोन्मुख लेप्चा समुदायका सांस्कृतिक विशेषता अध्ययन र मनोरञ्जनका लागि उत्तिकै महत्वपूर्ण छन् । पाहुना घरमा आइपुग्दा उनीहरूले आआफ्नो संस्कृति र परम्पराअनुसार स्वागत गर्ने चलन छ । त्यसभन्दा माथि पर्ने लामागाउँ तामाङ समुदायको बसोवास रहेको ठाउँ हो । सूर्योदय, सूर्यास्त र हिमशृंखला अवलोकनका लागि चर्चित लामागाउँबाट रम्भ्याङ, झन्डीडाँडा हुँदै भारतीय सीमा ब्युटी बोर्डरसम्म पदयात्रा गर्दा पर्यटक रमाउने गरेका छन् ।

सीमित स्रोत–साधनका बाबजुद वडा कार्यालयकै अगुवाइमा सांस्कृतिक र पर्यटकीय क्षेत्र विकास कार्य भइरहेको वडाध्यक्ष राईले बताए । ‘यहाँको समृद्धि यात्रामा स्थानीय, प्रदेश र संघीय सरकारको समेत उत्तिकै सहकार्य आवश्यक छ’, उनले भने, ‘सबैको समन्वय र परस्पर सद्भावमा हामी वडालाई उत्कृष्ट गन्तव्य बनाउने छौं ।’

प्रकाशित: १० असार २०८२ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App