१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

कल्भर्टले विस्थापित झोलुङ्गे पुल : बाह्रैमास सवारीसाधन चल्ने

बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ। नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट बनाइएको हो।

गलकोट–२ नरेठाँटीस्थित मूलाखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ। विसं २०७२ को बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस ठाउँमा मोटरबाटो निर्माणसँगै कल्भर्ट बनाइएको हो। नरेठाँटीमा योसँगै चार स्थानमा झोलुङ्गे पुलको सट्टा कल्भर्ट बनाइएको छ।

नरेठाँटी बजारबाट माथिल्लो बस्ती साविक नरेठाँटी गाविस–१, २ र ३ तर्फ जाने नागरिकलाई लक्षित गरेर २० लाख रुपैयाँमा कल्भर्ट निर्माण गरिएको हो। कल्भर्ट निर्माणले नरेठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरीखोलालगायत स्थानका नागरिकलाई सहज भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ६.५ मिटर लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको छ। २० लाख रुपैयाँ लागतमा उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समितिमार्फत निर्माण गरेका हुन्।

उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार लोकमार्गको वैकल्पिक सडकमा कल्भर्ट बनाएर झोलुङ्गे पुल विस्थापित गरिएको छ। मध्यपहाडी लोकमार्ग अवरुद्ध भएमा नरेठाँटी–फापरखेती छाप ग्रामीण सडक विकल्प हुने र कल्भर्टले बाह्रैमास सवारीसाधन चल्ने छ। पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्र पुनका अनुसार छोटो पुलले ठूलो राहत दिएको छ।

साविक नरेठाँटी गाविस धेरै खोल्साखाल्सी र खोला भएको क्षेत्र हो। बर्खायाममा खोलामा बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका थिए। अब मोटरबाटोको स्तरोन्नतिसँगै कल्भर्ट निर्माण गरिएपछि झोलुङ्गे पुल विस्थापित भइरहेका इन्जिनियर पुनको भनाइ छ। नरेठाँटीमा चारवटा कल्भर्ट प्रकृतिका पक्की पुल निर्माण भएकाले झोलुङ्गे पुल उपयोगविहीन भएको उनले बताए। प्रयोगविहीन झोलुङ्गे पुललाई अर्कै स्थानमा स्थानान्तरण गर्ने नगरपालिकाको योजना छ। रासस

प्रकाशित: ९ असार २०८२ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App