चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ताप्लेजुङमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले गत पुसदेखि असारसम्म भएका ३५ घटनाको सूचीकरण गरेको छ। इन्सेक ताप्लेजुङका प्रतिनिधि एलिना दियालीका अनुसार ३५ मध्ये ११ घटना घरेलु हिंसाका छन्।
सबै घटनामा महिला पीडित भएको तथ्यांक इन्सेकले प्रस्तुत गरेको छ। दियालीका अनुसार जबरजस्ती करणीका ७ घटना भएका छन्, जसमा ६ बालिका र एक महिला पीडित छन्। १२ वर्षीया बालिकादेखि ५१ वर्षीया महिलासम्म जबरजस्ती करणीबाट पीडित भएको तथ्यांकमा उल्लेख छ। अभद्र व्यवहारका ७, ज्यान मार्ने उद्योगका ५, अपराधिक उपद्रवका ३, कर्तव्य ज्यान, बहुविवाह र जबरजस्ती करणी उद्योगका १–१ घटना भएका छन्।
इन्सेकले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना र जागरण अभियानलाई सम्बन्धित सबैको प्रभावकारी सक्रियता र समन्वयमा न्यूनीकरण गर्न सकिने औंल्याएको छ। पछिल्ला दिनमा लागुऔषध प्रयोगकर्ता, आयात र निर्यातकर्ताविरुद्ध प्रहरीको सक्रियताप्रति इन्सेकले धन्यवाद दिएको छ। इन्सेकले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ताप्लेजुङ जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गरेको छ। इन्सेकले २५ जनाको क्षमता भएको जिल्ला कारागारमा १५० हाराहारी कैदीबन्दी रहनुपरेको र महिला कारागार नभएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।
समीक्षा कार्यक्रममा उपस्थित सरोकारवालाले भारतको उत्तराखण्डस्थित रुद्रपुरमा मानव तस्करीको झल्को दिने गरी प्रलोभनमा परेका नेपालीको उद्धारदेखि जलविद्युतलगायत पूर्वाधार निर्माणमा पानीको मूल सुक्ने समस्याको व्यवस्थापन अभावले नागरिकले भोगेको पीडा इन्सेक प्रतिवेदनमा समेटिनुपर्ने सुझाव दिएका छन्। इन्सेकले मनसुनजन्य विपद्का घटनाबाट सजग रहन सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफू र मातहतका निकायबाट प्रदान हुने सेवाको प्रभावकारी वितरणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। हेंवाखोलामाथि निर्माणाधीन बेलिब्रिज भत्किएर ताप्लेजुङ–पाँचथरको सोझो यातायात सम्पर्क टुट्ने जोखिमप्रति जिल्ला विपद् व्यवस्थापन समितिले योजना बनाउने र सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्य गरिरहेको उनले बताए। बढी जिम्मेवारी पाँचथरतर्फ केन्द्रित भए पनि सम्भावित जोखिमका विकल्पबारे समन्वय र छलफल भइरहेको उनले उल्लेख गरे।
विकल्पस्वरूप हेंवाखोलामा अस्थायी डाइभर्सन बनाउन जलविद्युत परियोजनाका ठूला पेनस्टक पाइप प्रयोग गर्ने विषयमा छलफल भइरहेको प्रजिअ शर्माले बताए। उनले जिल्लाका क्रियाशील राजनीतिक दलले वडा स्तरमा विपद्विरुद्ध जागरण र जोखिम आएमा राहत र उद्धारका लागि तयारी टोली बनाउनुपर्नेमा जोड दिए। उक्त विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल हुने उनले बताए।
कारागारका लागि आफ्नै जग्गा भए पनि भवन नबनिसकेकाले क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको बाध्यता भएको प्रजिअ शर्माले बताए। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसचिव लिलाराज पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यलगायतको उपस्थिति थियो।
प्रकाशित: ७ असार २०८२ १३:१८ शनिबार