२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सभापति थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा नियमित र सुचारु बनाउन सरकारसँग आग्रह गरेका छन्। 

सामाजिक सञ्जाल मार्फत थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन बचाउन खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचारकै क्रममा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। 

घटनापछि नेपाल चिकित्सक संघलगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो अवस्था अत्यन्त चिन्ताजनक भएको बताएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नो सुरक्षा र पेशागत अधिकारका लागि सेवा बन्द गर्न बाध्य हुने अवस्था पटक–पटक दोहोरिएकाले यसको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुने उनले बताएका छन्। 

थापाले विगतमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन र नेपाली कांग्रेसको पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। साथै, वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका अधिकारी तथा प्रहरीमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ। 

उनले सरकारलाई नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीसँग तत्काल संवाद गरी उनीहरूको पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न र ओपीडीसहित अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालन हुने वातावरण बनाउन विशेष पहल गर्न आग्रह गरेका छन्। 

प्रकाशित: १२ श्रावण २०८३ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App