रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ। वर्षायाम सुरु भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन्।
गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यो पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आएका थिए।
खाँडादेवी गाउँपालिकाको वडा नं ४ पुछिघाट र सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं ६ चैनपुर जोड्ने एक सय ८० मिटर लम्बाइको पुलको रामेछापतर्फको ३० मिटर भाग बाढीले पूर्ण रूपमा क्षति पुर्याएको थियो। विद्यार्थी, कर्मचारी र किसानलाई वर्षातमा आवतजावत गर्न सहज होस् भनेर खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए।
यो गाउँपालिकाअन्तर्गतका कोथवे, बेलघारीलगायत अन्य स्थानका झोलुङ्गे पुल आंशिक रूपमा मात्र क्षति भएका कारण यसअघि नै स्थानीय स्रोतसाधन परिचालन गरी मर्मतपश्चात सञ्चालनमा ल्याइसकिएको प्राविधिक हरिशचन्द्र बरालले राससलाई बताए।
बीचबीचमा काठको फल्याक र किनारमा बाँसको बार बनाएर अस्थायी रूपमा भए पनि नदी वारपार गर्न सहज बनाइदिएपछि जोखिमपूर्ण डुङ्गा यात्राको समस्या समाधान भएको पुछिघाटकी स्थानीय शिक्षक दुर्गा महत बताउँछन्।
यो पुल मर्मत भएसँगै खाँडादेवी–४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने दुई दर्जनभन्दा बढी बालबालिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट खाँडादेवी वारपार गर्ने कर्मचारीलाई निकै सहज भएको स्थानीय इन्द्रबहादुर श्रेष्ठले बताए।
यसअघि भएको पुलको क्षतिपश्चात जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरेको डुङ्गा (र्याफ्टिङ) भरपर्दो र विद्यार्थीको समयानुकूल नभएपछि विद्यार्थी र किसान यही पुलबाट जोखिम मोलेर नदी वारपार गर्न बाध्य थिए। अस्थायी रूपमा मर्मत भएको यो झोलुङ्गे पुल लामो समयसम्म नटिक्ने हुनाले यसलाई स्थायी रूपमा बनाउन पहल गर्न स्थानीयले अनुरोध गरेका छन्। रासस
प्रकाशित: ६ असार २०८२ ०६:३० शुक्रबार