२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सुनसरी घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह, निष्पक्ष छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनका लागि सरकारसँग आग्रह गरेका छन्। 

मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

उनले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाबाट टाढा रहन उनले सबै नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई अपिल गरेका छन्। 

लामिछानेले वर्तमान परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न तथा अवस्था सामान्य बनाउन रास्वपा नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर समन्वयमा रहेको बताएका छन्। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। 

लामिछानेले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति तथा पार्टीका सम्पूर्ण कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। 

प्रकाशित: १२ श्रावण २०८३ १७:३६ मंगलबार