१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै आठलाख पर्यटक

मुस्ताङमा मात्र करिब पाँचलाख पाहुना पुगे

अन्नपूर्ण क्षेत्रभित्र पर्ने हिमाली जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्र। अन्नपूर्ण क्षेत्रमा एकवर्षमा झन्डै आठलाख आन्तरिक पर्यटक पुगेका छन। तस्बिरः नागरिक

एकवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा झन्डै आठलाख आन्तरिक पाहुना घुमघाममा पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा ७ लाख ९१ हजार ७ सय ७३ जना आन्तरिक पर्यटक घुम्न पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।  

पछिल्लो समय अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यमा आन्तरिक पाहुनाको आकर्षण बढिरहँदा आगमन संख्या उकालो लागेको एक्यापले बताएको छ। अन्नपूर्ण क्षेत्रभित्र गएका पाहुनामध्ये सबैभन्दा बढि ४ लाख ९२ हजार ५ सय ३७ जना आन्तरिक पाहुना हिमाली जिल्ला मुस्ताङले मात्र भित्र्याएको छ। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पनि अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।

एक्यापका अनुसार उपल्लो मुस्ताङ मात्र घुम्ने पाहुनाको संख्या ५८ हजार ५ सय ४६ रहेको छ। त्यस्तै अर्काे हिमाली जिल्ला मनाङ र कास्कीको सिक्लेसमा ४० हजारका दरले पाहुना उक्लेका छन्। अन्नपूर्ण क्षेत्रकै अर्काे पर्यटकीय गाउँ कास्कीको घान्द्रुकमा ७१ हजार, घोरेपानीमा २७ हजार ५ सय, नर्थ एबिसीमा २० हजार पाहुना पुगेको एक्यापले बताएको छ। नर्थ एबिसी पछिल्लो समय पहिचान कमाएको पदमार्ग हो।

त्यस्तै ल्वाङ गाउँमा २३ हजार र भुजुङ क्षेत्रमा ३६ हजार भन्दा बढि संख्यामा पाहुन पुगेका छन्। अन्नपूर्ण आधारशिविर(एबिसी) मात्र वर्षभरिमा ११ हजार ४ सय ५६ जना आन्तरिक पाहुना पुगेका छन्। ‘योपटक अन्नपूर्ण क्षेत्रले आन्तरिक र बाह्य पर्यटन क्षेत्रमा फड्को नै मारेको छ। आन्तरिक र बाह्य दुवैखाले पर्यटक आगमनमा अन्नपूर्ण क्षेत्रले नयाँ आकार कायम गर्न सकेको छ,’ एक्याप प्रमुख डा.रविन कडरियाले भने, ‘पछिल्लो समय आन्तरिक पाहुनाको आगमन निकै नै बढेको छ।’ 

उनका अनुसार पछिल्लो समय हिमाली जिल्लामा आन्तरिक पाहुनाको भीडभाड पनि बढेको छ। सिजनको बेला त पाहुनालाई बास पाउन पनि मुस्किल हुने गरेको छ। सामान्य अवस्थामा हिमाली क्षेत्रमा दसैैंको बिदामा आन्तरिक पाहुनाको अचाक्ली नै भीड लाग्ने गरेको छ। त्यस्तै फागुन–चैत महिनामा पनि आन्तरिक पाहुनाको भीडभाड हुने गरेको छ। 

‘लामो बिदामा त हिमाली जिल्लाले आन्तरिक पाहुनाको भीडभाड थेग्नै नसक्ने अवस्था छ। ती क्षेत्रका होटलको क्षमताले समेत धान्न नसक्ने अवस्था छ,’ उनले भने, ‘कालिगण्डकी करिडोरको यात्रा सहज बनेपछि हिमाली क्षेत्र मुस्ताङमा आन्तरिक पाहुनाको भीड छ। त्यस्तै मनाङमा पनि बाटोको पहुँच पुगेपछि आन्तरिक पाहुनाको भीड बढेको छ।’ एक्यापका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा ६ लाख हाराहारीमा आन्तरिक पाहुना पुगेका थिए।

‘पछिल्लो वर्ष त अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुनाको आकारले पनि नयाँ रेकर्ड कायम गरेको छ। त्यस्तै आन्तरिक पाहुनाको आगमन संख्या पनि निकै नै उचालिएको छ,’ उनले भने, ‘प्रकृतिमा रमाउँदै साहसिक गन्तव्यको अनुभव बटुल्नका लागि पाहुनाको भीड अन्नपूर्ण क्षेत्रमा लागेको हो।’  

अन्नपूर्ण क्षेत्रमा यातायातको पहुँच बिस्तारले गर्दा आन्तरिक पाहुनाको आकार बढाउन सघाएको उनको भनाई छ। ‘साना सवारीको समेत पहुँच बढेपछि अहिले निजी सवारीमा पनि पाहुना पुग्न सक्ने भएका छन्। त्यस्तै दुइपांग्रे सवारीमा पनि सहजै जान सक्ने अवस्था छ। त्यसले गर्दा पाहुनाको भीड बढेको हो,’ उनले भने।  

सहरी क्षेत्रमा पाहुना अरुबेला पनि घुम्न जान सक्ने तर, हिमाली भेगमा भने सिजनको बेलामा मात्र जान सक्ने भएकोले पनि पाहुनाको आकर्षण बढि रहेको उनले बताए। मुस्ताङमा पाहुनाको आकार बढि हुनुमा एउटा मुख्य कारण मुक्तिनाथ दर्शन गर्न जाने भएकोले पनि भीडभाड बढेको उनले बताए। त्यस्तै कागबेनीमा श्राद्ध गर्न जाने भएकोले पनि मुस्ताङमा भीड बढि देखिएको एक्यापको भनाई छ। ‘मनाङमा भन्दा मुस्ताङमा पहुँच सहज बनेको छ। बेनी–जोमसोम सडक त निकै नै सहज भएको छ,’ उनले भने।

व्यवासायी पनि पछिल्लो समय आन्तरिक पाहुनाका कारण पर्यटकीय गन्तव्य चलायनमान बन्दै गएको बताउँछन्। छोमरोङ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष जगन गुरुङले आन्तरिक पाहुनाले गर्दा व्यवासाय सदावहार भएको बताए। ‘पछिल्लो समय त आन्तरिक पाहुनो बाह्रैमास आउन थालेका छन्। सिजन वा अफसिजन होस, आन्तरिक पाहुना आएका छन्। संख्यात्मक रुपमा धेरै र थोरै भएपनि पाहुना खालि हुनुपरेको छैन,’ उनले भने, ‘सबैतिरका गन्तव्यमा आन्तरिक र बाह्य पाहुना पुग्ने गरेका छन्। पाहुनाको आगमनले व्यावसाय चलायमान पनि बनेको छ।’

प्रकाशित: १२ श्रावण २०८३ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App