नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले भारतले नेपाललाई ब्रिक्समा नबोलाउनुका पछाडि सरकारको कूटनीतिक कमजोरी जिम्मेवार हुन सक्ने तर्क गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री बालेन्द्र शाहले हैसियत नमिल्ने भन्दै भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेको विषयलाई पहिलो कारणका रूपमा उठाएका छन्।
नेता पोखरेलले रणनीतिक राजदूत नियुक्ति, जलवायु परिवर्तनका विषयमा अमेरिका, चीन र भारतलाई दोष दिने सरकारी धारणा तथा छिमेकीको उद्धार सहयोग अस्वीकार गरिएको विषयलाई पनि उल्लेख गरेका छन्।
त्यस्तै, दक्षिण कोरियालाई आफ्ना नागरिक उद्धार गर्न हेलिकप्टर भाडामा लिन रोकिएको दाबी गर्दै उनले यस्ता गतिविधिले नेपालको कूटनीतिक सम्बन्धमा असर परेको हुन सक्ने संकेत गरेका छन्।
पोखरेलले राजदूत नियुक्त गर्न, स्वदेशी तथा विदेशी विज्ञ, जलवायु परिवर्तनका विषयमा चासो राख्ने प्रभावशाली व्यक्ति, सांसद र राजनीतिक दलसँग सम्बन्ध बढाउन सुझाव दिएका छन्। नजिकका मित्रराष्ट्रको चासो र नेपालको हितअनुसार काम गर्न तथा सबै दलसँग समन्वय गर्नुपर्ने उनले बताएका छन्।
कूटनीतिक अपरिपक्वताको मूल्य अझै कति तिर्नुपर्ने हो भन्दै पोखरेलले प्रश्न गरेका छन्। शनिबारदेखि आइतबारसम्म नयाँ दिल्लीमा आयोजित सम्मेलनमा नेपाललाई निम्ता गरिएको थिएन्।
प्रकाशित: २९ भाद्र २०८३ ०७:२३ सोमबार





