१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

भूमि आयोगले थाल्यो लालपुर्जा वितरण

इलामको चुलाचुलीमा आफ्नो जग्गाको लालपुर्जा लिँदै ८७ वर्षीया घनीमाया मगर।

इलामका भूमिहीन सुकुमवासीलाई धमाधम लालपुर्जा वितरण गरिँदै छ।

भूमिसम्बन्धी समस्या समाधान आयोग र सम्बन्धित स्थानीय तहले लामो समयपछि प्रक्रिया पुर्‍याएर धनीपुर्जा वितरण थालेका हुन्।

रोङ गाउँपालिकाका ७२ र चुलाचुली गाउँपालिकाका ३१ परिवारलाई धनीपुर्जा वितरण गरिएको छ।

वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग छन्। चुलाचुली–२ की अव्यवस्थित बसोवासी ८७ वर्षीया घनमाया मगरले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरिन्।

‘उमेर बित्न लागे पनि भूमिविहीन भएर मर्नुपरेन,’ उनले भनिन्, ‘जमिन आफ्नो नहुँदा सयौं हन्डरठक्कर खाइयो, यो बेला आएर कागज समात्न पाइयो।’

भूमिसम्बन्धी आयोग पटक–पटक गठन हुँदा पनि धनीपुर्जा वितरण गर्ने चरणमा पुग्न पाएका थिएनन्। यस पटक अघिका आयोगहरूले गरिरहेकै कामलाई निरन्तरता दिएर धनीपुर्जा वितरण गरिएको हो।

‘निकै मेहनत र परिश्रम गरेपछि आयोग र पालिकाको काममा नतिजा आएको छ,’ आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले भने, ‘कोशी प्रदेशमै इलाममा पहिलो पटक धनीपुर्जा बाँडिएको हो। प्रक्रिया पुगेका सबैको धनीपुर्जा वितरण गरिनेछ।’

चुलाचुलीमा ६ सय ३० परिवारको जग्गा अधुरो–अपुरो भएपनि बाँकीलाई प्रक्रियामा लगेर लालपुर्जा वितरण गरिने उनले जनाए। यसअघिका अपुरा काम आयोगले गरिरहेको पनि उनले जनाए।

आयोगले मंगलबार रोङ गाउँपालिकामा ७२ परिवारलाई धनीपुर्जा बाँडेको थियो। रोङमा अब ७८ परिवारको लालपुर्जा वितरणको अन्तिम तयारी भएको छ। ‘ती परिवारले राजस्व तिरेपछि लालपुर्जा पाउनेछन्,’ अध्यक्ष अधिकारीले सुनाए।

असार १० भित्रमा लालपुर्जा वितरण गर्नेगरी माई नगरपालिकाको काम भइरहेको छ। माई नगर ७२ प्रतिशत भूमि ओइलानी रहेको पालिका हो। यहाँका १ सय ५२ परिवारलाई धनीपुर्जा वितरण गर्न आयोगले १५ दिनको अन्तिम सूचना जारी गरेको छ। माङसेबुङका १ सय १० परिवारको लालपुर्जाको अन्तिम तयारी भएको छ।

आयोगले असारभित्र इलामका ५ सय परिवारलाई धनीपुर्जा वितरण गर्ने लक्ष्यसाथ काम गरिरहेको अध्यक्ष अधिकारी बताउँछन्। जिल्लाका १० मध्ये पाँच स्थानीय तहका २ हजार ७ सय ७९ कित्ताको नक्सा, स्थलगत अध्ययन तथा प्रमाणीकरण गरेर काम गरिएको उनले जनाए।

जिल्लास्थित आयोगमा १ सय १६ भूमिहीन दलित, ४ सय ९० भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका १३ हजार ४ सय ८६ निवेदन दर्ता छन्।

माईमा २८ भूमिहीन दलित, ८८ भूमिहीन सुकुमबवासी, ७ हजार ३ सय ६६ अव्यवस्थित बसोवासी छन्। माङसेबुङमा २४ भूमिहीन दलित, २ सय ३० भूमिहीन सुकुमवासी, २ हजार ३ सय ८ अव्यवस्थित बसोवासी, रोङमा ४ भूमिहीन दलित, ६५ भूमिहीन सुकुमवासी, १ हजार ७ सय ९१ अव्यवस्थित बसोवासी छन्।

सूर्योदय नगरपालिकामा ६० भूमिहीन दलित, १ सय ७ भूमिहीन सुकुमवासी, १ हजार ९ सय ६५ अव्यवस्थित बसोवासी रहेको आयोगको विवरण छ।

‘वर्षाैंदेखि भूमि समस्या खेपिरहेका सर्वसाधारण लामो प्रतीक्षापछि धनीपुर्जा पाउँदा खुसी छन्,’ अध्यक्ष अधिकारीले भने, ‘हामी सकेसम्म चुस्त हुनेगरी काम गरिरहेका छौं।’

रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले लामो समयदेखिको प्रतीक्षा, धैर्य र अथक प्रयासपछि सर्वसाधारणलाई भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्ने दिशामा यो ऐतिहासिक कदम भएको बताइन्।

‘अझ कोशी प्रदेशमै रोङ गाउँपालिका धनीपुर्जा वितरणमा पहिलो भएको छ, यो हाम्रो गर्वको विषय पनि हो,’ उनले भनिन्, ‘कार्यक्रम केबल कागजात वितरणमा सीमित नभई समाजमा न्याय, समावेशिता र सम्मानजनक जीवन सुनिश्चित गर्ने दिशातर्फको ठोस कदम पनि हो।’

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकामा आउँदो मङ्सिर भित्र ७ सय धनीपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित: ४ असार २०८२ २०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App