३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

सूर्यविनायकमा पार्किङ खोई?

पछिल्ला वर्षहरूमा भक्तपुर जिल्लाकै जक्सन (सबैजना भेटघाट हुने केन्द्र वा मुख्य ठाउँ) बनेको छ भक्तपुरको सूर्यविनायक। अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सूर्यविनायक बस स्टप बजारको हिसाबले भक्तपुरकै प्रमुख बजार बनेको छ, तर यही बजारमा सवारीसाधन तथा मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएको भन्दै स्थानीयले पीडा पोखेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायकले सोमबार गरेको वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा वडावासीले जिल्लाकै मुख्य सहरको केन्द्र भएकाले सूर्यविनायकमा अत्यधिक मानिसको आवतजावत हुने गरेको तर त्यहाँ निजी सवारी साधन लिएर आउने मानिसले सडकमै राखेर पार्किङ गरिदिँदा समस्या हुने गरेको बताए। विशेषगरी सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेशस्थान जाने र सूर्यविनायक बाराहीबाट गुन्डु जाने सडकमै सवारी पार्किङ गरिदिँदा आवतजावतमा अवरोध आई सहर नै अस्तव्यस्त हुने गरेको वडावासीले बताए।

स्थानीय मधुसूदन चालिसेले जिल्लाकै जक्सनमै पार्किङ नहुनु दुर्भाग्यको विषय भएको बताए। यसले समग्र सूर्यविनायक क्षेत्रलाई नै अस्तव्यस्त पारेको उनको बुझाइ थियो। मुख्य सडकमै जथाभावी हुने पार्किङले स्थानीयलाई मात्रै नभई सडकमा आवतजावत हुने सबैलाई दैनिक समस्यामा पार्दै आएको उनले बताए।

अर्का वडावासी अमर कार्कीले विशेषगरी सूर्यविनायक चोकदेखि उत्तर थापा पार्टी प्यालेससम्मको झन्डै दुईतीन सय मिटरको सडकछेउमा हुने मोटरसाइकल पार्किङले अस्तव्यस्त भएकाले त्यहाँ हुने पार्किङ रोक्नुपर्ने आवश्यकता औंल्याए। विशेषगरी सूर्यविनायक चोकदेखि गुन्डु जाने सडकमा काठमाडौं वल्र्ड स्कुल गुन्डु जाने ठूलाठूला स्कुल बसहरूले साह्रै अप्ठेरो पार्ने गरेको व्यथा उनले सुनाए।

सूर्यविनायक नगरपालिका वडा नं ६ का अध्यक्ष ईश्वर खड्काले सूर्यविनायकका यी दुई सडकछेउमा हुने पार्किङ रोक्न आफ्नो तीन वर्षको कार्यकालमा चारपटक कोसिस गरेको जानकारी गराए। तथापि पार्किङ हटाउन नसकिएको पनि उनले बताए। सडकछेउमा बोर्डहरू राखेर पटकपटक प्रयास गर्दा पनि समस्या समाधान हन नसकेको उनले बताए। कतिपय वडावासीले त रातको समयमा रिसले ती बोर्ड लात्ताले हानेर बिगार्ने गरेको पाइएको पनि उनले सुनाए।

भक्तपुरको सूर्यविनायक चोक जिल्लाकै बढी जनघनत्व भएको बजार हो। यहाँ नुनदेखि सुनसम्म पाइन्छ। यहीकारण यो ठाउँमा दैनिक हजारौं सवारीसाधनको पार्किङ हुँदै आएको छ। यो ठाउँ अरनिको राजमार्गलाई सिमानामा राखी उत्तरमा भक्तपुर नगरपालिका वडा नं ३ र ४ तथा दक्षिणमा सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ को बीचमा पर्दछ। 

सूर्यविनायकको नामबाटै पूर्वमा साँगादेखि पश्चिममा पेप्सीकोला कोटेश्वरसम्मको अरनिको राजमार्गको दक्षिणतिरको सम्पूर्ण गाउँ विकास समितिहरू मिलाएर पछिल्लोपटक सूर्यविनायक नगरपालिका घोषणा गरिएको थियो। सूर्यविनायक चोकदेखि दक्षिणमा माथि सूर्यविनायक गणेश मन्दिर रहेको छ। यही नामबाट यस ठाउँको नाम सूर्यविनायक रहन गएको स्थानीयको भनाइ छ।

प्रकाशित: ३ असार २०८२ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App