३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

सिसाखानीवासीले धित मरुन्जेल पानी कहिले पाउलान् ?

१५ वर्षदेखि खानेपानी योजना अधुरै

बडिगाड-३ सिसाखानीको सम्मोमा निर्माण गरिएको खानेपानी रिजर्ब ट्याङ्की। तस्बिरः नागरिक

जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्। बेलायती गैरसरकारी संस्था लुथरनले २०४७ सालमा बस्तीभन्दा झण्डै १० किलोमिटर पर लहरेनी खोलाबाट पानी ल्याउने गरी खानेपानी आयोजना सञ्चालन गर्‍यो। पानीको तिर्खा सहजै मेटिने अपेक्षामा गाउँलेहरूले श्रमदान गरे।  

छेडा पोखरामा रिजर्ब ट्याङ्की निर्माण गरेर झण्डै एक दर्जन सामुदायिक धारा मार्फत पानी वितरण गरियो। त्यसले पनि यहाँको नागरिकको तिर्खा मेटाउन सकेन। बर्खाभरि प्रशस्त पानी धारामा आए पनि माघ-फागुनदेखि जेठ-असारसम्म पानीको हाहाकार भैरह्यो। सुख्खा समयमा रातको ३ बजेदेखि नै धारोमा पानी भर्न गाग्रीका लाइन हुन्थे। बिहान तीन घण्टा र साँझ तीन घण्टा पानी खोलिन्थ्यो। तर मुख्य बस्ती रहेको गाउँ रिजर्ब ट्याङ्कीभन्दा टाढा भएकाले आधा एक घण्टामा पानी आउन रोकिन्थ्यो।

बिहान पानी भर्न राखेको गाग्री साँझसम्म र साँझ पानी भर्न राखिएका गाग्री भोलिपल्ट बिहानसम्म धारोको लाइनमै राखिन्थे। यही समस्य समाधान गर्न २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना सुरु गरियो। नेपाल सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङ मार्फत अगाडि बढाइएको योजनामा पहिलेको थप दुई किलोमिटर पर घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा पानी रिजर्ब गरेर लिफ्ट मार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अहिले १५ वर्ष पुग्दासम्म पनि अधुरै छ।  

नेपाल सरकारले वर्षैपिच्छे ५/१० लाख रुपैयाँ विनीयोजन गर्‍यो। सम्मोमा पानी ट्याङ्की बन्यो। केही सार्वजनिक धारा बने। तर योजना पूरा हुने गरी बजेट विनियोजन भए। २०७२ सालमा नेपाल संघीयतामा गएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रम अन्तर्गत प्रदेश सरकारको जिम्मेवारीमा आयो। एक घर एक धारा कार्यक्रमको अवधारणा अनुसार योजनाको रि-डिजाइजन भयो। पहिले निर्माण भएको रिजर्ब ट्याङ्की र सार्वजनिक धारा फाल्टु भए।  

पुरानै ठाउँ पुरानै ट्याङ्कीको आडमा अर्को ४५ हजार लिटरको ट्याङ्की निर्माण गरियो। एक घर एक धारा अन्तर्गत झण्डै एक सय घरधुरीको घर घरमा धारा निर्माण भए। तर अहिलेसम्म पनि त्यहाँका नागरिकले धित मरुन्जेल पानी उपयोग गर्न पाएका छैनन्। १५ वर्ष अगाडि सुरु भएको योजना अधुरै रहँदा सहज पानी उपयोग गर्न पाउने त्यहाँका नागरिकको सपनामा पनि अधुरै छ।

सिसाखानीको साविक वडा नम्बर १ बाघखोरमा रिजर्ब ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैंडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए। ‘सरकारले वर्षमा पाँच लाख १० लाख बजेट हालेर टार्छ, एउटा सरकारले बजेट हालेको ठाउँमा अर्को ठाउँबाट बजेट हाल्न मिल्दैन भन्छन्,‘ उनले भने, ‘बजेटको अभावमा आयोजना सम्पन्न भएको छैन। दुई वटा ट्याङ्की र केही व्यक्तिगत तथा केही सामुदायिक धारा निर्माणको काम पनि बाँकी छ।’ एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गर्न बाँकी रहेको उनले बताए।

‘लगभग ६० लाख वरपर बजेट भएको खण्डमा हाम्रो सबै काम पूरा हुन्थ्यो, बजेट पाँच दश लाखमा सिमित हुन्छ,’उनले भने, ‘झण्डै २० लाख रुपैयाँ त हामीले पुरानो काम गरेको तिर्नै बाँकी छ।’ ट्याङ्कीसंगै वडा कार्यालय, विद्यालय लगायतका ठाउँमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको उनी बताउँछन्। अहिले बस्ती भन्दा झण्डै एक किलोमिटर तल रहेको रिवर्ज ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ।

बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भैरहेको उनले बताए। ‘केहीको व्यक्तिगत धारा र केही सार्वजनिक धारामा गरेर दुःखका साथ पानी प्रयोग त गरेका छौं,’ अध्यक्ष पुनले भने, ‘योजना कहिले सम्पन्न हुने हो थाहा छैन।’ सिसाखानीको अधिकांश नागरिकले अहिले पनि पानी बोकेर उपभोग गर्नु परेको स्थानीय सिसाखानी माविका शिक्षक किशोर काउचा घर्ती बताउँछन्। ‘अहिले पनि यहाँका धेरै नागरिकले पानी गाग्रीमै बोकेर प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘विद्यालय स्वास्थ्यचौकी लगायतका ठाउँमा यसले झन् अप्ठ्यारो छ।’

यस वर्ष सिसाखानी निवासी नागरिकलाई अस्थायी रूपमै भए पनि पानी खुवाउन सफल भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारी बताउँछन्। ‘यस पटक अस्थायी रूपमा पानी खुवाउन सफल भएका छौं,’ उनले भने, ‘आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घर घरमा रहेको धारामा पानी खस्नेछ।’ पुराना योजनाहरूलाई सम्पन्न गर्ने कुरामा कार्यालयले ध्यान केन्द्रित गरेको उनले बताए।

प्रकाशित: ३१ जेष्ठ २०८२ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App