प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी अस्पताललाई विगतका कमजोरीहरू सच्याउँदै सेवाग्राहीमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
अस्पतालको निरीक्षणपछि आयोजित एक कार्यक्रममा उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामूहिक भावना र उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
बुधबार महाराजगन्जस्थित अस्पतालको आकस्मिक कक्ष, विभिन्न वार्ड, फार्मेसी र शैक्षिक कार्यक्रमहरूको निरीक्षण गर्दै महानिरीक्षक थापाले बिरामीहरूसँग समेत अन्तरक्रिया गरेका थिए।
सो अवसरमा बोल्दै उनले भने, ‘उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारमार्फत सबैको सहज पहुँच सुनिश्चित गर्नु अस्पतालको दायित्व हो।’
कोभिड-१९ जस्ता महामारीमा अस्पतालले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले दूरदराजमा कार्यरत प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी, उनीहरूका आश्रित परिवार र आमनागरिकको उपचारमा देखिएका पुराना कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
महानिरीक्षक थापाले अस्पतालको भौतिक र प्राविधिक स्तरोन्नति तथा कर्मचारीको वृत्ति विकासका लागि संगठन सधैं सकारात्मक रहेको बताए। उनले सेवालाई थप प्रभावकारी बनाउन अन्य संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिन र मनसुनजन्य विपद् तथा अन्य प्रकोपको उद्धारका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिए।
प्रकाशित: २८ जेष्ठ २०८२ १६:१९ बुधबार





