७ असार २०८२ शनिबार
image/svg+xml
समाज

इटहरी बजार क्षेत्रका १२४ वटा घर भत्काइँदै

एशियन हाइवे विस्तारका क्रममा इटहरीमा १२४ वटा घर भत्काइँने भएको छ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) अन्तर्गत इटहरी बजार क्षेत्रका घर भत्काउनका लागि जेठ २२ गते ३५ दिने सूचना जारी गरिएको हो ।  

मोरङको गोठगाउँदेखि इटहरीको लबीपुरसम्मको सडक अन्तर्गत इटहरी बजार क्षेत्रमा पर्ने घरहरुमध्ये तीनवटा घर धनीले पनि अदालतबाट स्टे अर्डर ल्याएको र बाँकी घरमध्ये धेरैजसो घरको छजी परेकाले त्यो संरचना हटाएर क्षतीपूर्ति लिन आह्वान गरिएको सडक विस्तार योजनाको कार्यालय इटहरीले जनाएको छ । योजना प्रमुख जगत प्रजापतिका अनुसार केही घरको पिलर पनि भत्काउनुपर्ने अवस्था छ ।  

‘सडकको सेन्टरबाट दुवै तर्फ २५–२५ मिटर पर्ने गरि सडकका लागि आवश्यक क्षेत्रफल चाहिने हुँदा सो अनुसार क्लियर गर्न संरचना भत्काउन भनिएको हो,’ उनले भने, ‘एक वर्षभित्रमा काम सक्ने गरि योजना थालिएर काम भएको हो ।’ सडक विस्तार योजनाका अनुसार घरधनीले आफैँ संरचना हटाउन आग्रह गरिएकोमा आफैँ नहटाएमा कानुनअनुसार काम अगाडि बढाइनेछ । ‘हाम्रो योजना दसै तिहारदेखि कामथालेर आउने २०८३ सालको बर्खा अघि नै सक्नेछ,’ योजना प्रमुख प्रजापतिले मंगलबा इटहरी नागरिक समाजको टोली समक्षभने, ‘घर भत्किन्छन् भनेर कतिपयले अहसज गर्न सक्छन, त्यसमा नागरिक समाजले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ ।’

अहिले इटहरीदेखि पूर्व काँकडभिट्टासम्म विभिन्न स्थानमा डाइभर्सन निकालेर कामभइरहेको छ । बढी काम झापा र मोरङमा भइरहेको छ । सुनसरीमा भने अब भर्खरै सुरुवात भएको छ । सडक विस्तार गर्ने क्रममा अहिले मुख्य चुनौती भनेको विद्युतपोल हटाउने र खानेपानीको पाइप व्यवस्थापन रहेको छ । यस्तै, फिलिङ्का लागि माटोको पनि अभाव भएको छ ।  

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भइरहेको हो। सडकका लागि एसियाली विकास बैंकले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ । यस्तै, १५.९ प्रतिशत रकमभने नेपाल सरकारको रहेको छ । कुल ३५ अर्ब बजेट रहेको एशियनहाइवे अन्तर्गत गोठगाउँदेखि लविपुरसम्मको दस किलोमिटर सडकका लागि साढे चार अर्ब लगानी रहेको छ । 

प्रकाशित: २७ जेष्ठ २०८२ १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App