जुम्लाका तीन कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार यो पुरस्कारका लागि नौ जना कृषक छनोटमा परेका थिए।
जुम्लाको चन्दननाथ नगरपालिका र सात गाउँपालिकाबाट कृषकका निवेदन प्राप्त भएका थिए। तीमध्ये तीन जना उत्कृष्ट घोषित भएको कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।
गुठिचौर गाउँपालिका-१ का सन्तोष बस्नेत (कृषि तथा पशुपालन उद्योग), गुठिचौर गाउँपालिका-४ की रीता पाण्डे (पाण्डे पशुपालन उद्योग) र चन्दननाथ नगरपालिका-३ की सन्तकली भण्डारी (असल कृषि तथा पशुपन्छी पालन उद्योग) ले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन्। व्यवसायिक रूपमा पशुपालनमा लागेका कृषकका लागि यो पुरस्कार अवसरको रूपमा लिइएको छ।
सन्तोष बस्नेतले ३० हजार, रीता पाण्डेले २५ हजार र सन्तकली भण्डारीले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। सन्तोष बाख्रापालनमा उत्कृष्ट बनेका छन्। प्रमुख ज्ञानेन्द्रसिंहका अनुसार भेडापालनका लागि ५० भन्दा बढी भेडा र गाई-भैंसीपालनका लागि १० भन्दा बढी दुहुना पालेको हुनुपर्छ।
एक वर्ष पुरस्कृत भएका कृषकले पुनः अवसर पाउँदैनन्। सन्तोषका ४ सय भेडाबाख्रा छन्। उनले पुरस्कारले मेहनतको कदर भएको अनुभव गरे। उनले भने, ‘आगामी दिनमा अझै व्यवसायिक बन्न प्रेरणा मिलेको छ।’
रीता पाण्डेले १२ वटा भैंसी पालेका छन्। भैंसीपालनबाट राम्रो आम्दानी गरेकी रीताले व्यवसाय विस्तार गर्ने योजना बनाएको बताए। सन्तकलीका २ सय भेडा छन्।
उनले भेडापालनबाटै गुजारा चलेको बताए। उनले भनिन्, ‘अब भेडापालन गुजारामुखी मात्र हुन सक्दैन। व्यवसायिक रूपमा पालेर रोजगारमुखी बनाउने कसरत गरिरहेको अवस्था छ।’
पशु विकास अधिकृत केशवप्रसाद कुसीले मापदण्डका आधारमा तीन जना कृषक पुरस्कृत भएको बताए। अन्य कृषकको मेहनत र लगन पनि लोभलाग्दो रहेको उनले उल्लेख गरे। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कृषकको परिश्रम र मेहनतले समाज जीवित रहेको बताए।
उनले भने, ‘किसानले उत्पादन नगरे भोकमरीको अवस्था सृजना हुन्छ। किसानको ठूलो महत्त्व छ। किसानलाई सम्मान र अवसर दुवै दिन जरुरी छ। पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको छ।’
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लक्ष्य कृषकलाई उत्साहित गराउनु हो। यो पुरस्कारले कृषकको मनोबल बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ जेष्ठ २०८२ २१:०० आइतबार




-600x400.jpg)
