राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनरत समूहले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरिए पनि उक्त क्षेत्रलाई निषेधित घोषणा गरिएपछि प्रदर्शनकारीहरू बालुवाटारतर्फ लागेका हुन्।

आन्दोलनको तेस्रो दिन, शनिबार रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भएका प्रदर्शनकारीहरू नक्साल हुँदै प्रधानमन्त्री निवासतर्फ अघि बढेका थिए।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्चपदस्थ सरकारी अधिकारीहरूको निवास रहेको संवेदनशील बालुवाटार क्षेत्रमा पुगेर उनीहरूले राजतन्त्रको पक्षमा र वर्तमान व्यवस्थाको विपक्षमा चर्का नाराबाजी गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘गणतन्त्र धोका हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका दलका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

सरकारले बालुवाटार क्षेत्रलाई यसअघि नै संवेदनशील र निषेधित क्षेत्र घोषणा गरिसकेको छ। प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूले प्रदर्शनकारीलाई प्रधानमन्त्री निवासको मुख्य प्रवेशद्वारभन्दा केही पर नै रोकेका छन्।
यसअघि शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो।

सोही कारण राजावादीहरूले आफ्नो प्रदर्शनस्थल परिवर्तन गरी शान्तिबाटिका हुँदै बालुवाटारतर्फ अघि बढेका हुन्।
सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: १७ जेष्ठ २०८२ १६:२२ शनिबार





-600x400.jpg)