२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

चितुवा समात्न बालापुर वनमा पठाइयो श्यामकलि र शान्तिकलि

मान्छेलाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गुलरिया नगरपालिका ५ स्थित बालापुर सामुदायिक वनमा दुई वटा हात्ती पठाइएको छ।

निकुञ्जको मुख्यालय ठाकुरले बिहीबार श्याम कलि र शान्तिकलि नामका दुई हात्तीलाई वनमा पठाएको हो।

बुधबार सात वर्षीय सायरा चौधरीको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिन केज र डार्ट गन प्रयोग गरिए पनि चितुवा नियन्त्रणमा आउन नसकेपछि शान्तिकलि र श्यामकलिलाई वनमा पठाइएको छ। चालिस किलोमिटर यात्रा तय गरेर गुलरिया पुगेका दुई हात्ती कम्तीमा दुई घन्टा रेष्ट गर्ने छन् । भोकाएका हात्ती चरेर फर्केपछि चार बजेबाट चितुवाको खोजी गर्न थाल्ने छन्। हात्तीसँग हात्ती चालक(माहुते) ,वन्यजन्तु प्राविधिक सहित १२ जना दक्ष जनशक्तिले चितुवाको खोजी गर्नेछन् ।

जङ्गली हात्तीले प्रति घन्टा चालिस किलोमिटरको यात्रा गर्न सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । ‘जङ्गली हात्ती जस्तो घरेलु हात्तीले दौडधुप गर्न सक्दैन,’उनले भने,‘समस्याग्रस्त वन्यजन्तु छोप्न सिपालु हात्ती परिचालित गरिन्छ ।’ आफ्नो कार्यकालमा समस्या ग्रस्त चितुवालाई नियन्त्रणमा लिन पहिलो पटक गुलरिया हात्ती पठाएको उनको भनाई छ ।

शान्तिकलि निकुञ्ज हात्ती हो भने श्यामा एनटिएनसि संस्थाको स्वामित्वमा रहेको छ । गुलरिया नगरपालिका वडानं. ५ बालापुर गाउँकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि पीडित परिवार शोकमा छ भने स्थानीय आक्रोशित छन् । मृतको शव अहिले बर्दिया अस्पतालमा राखिएको छ ।चितुवालाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने परिवारको अडान दुई दिनदेखि कायम छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको निर्देशनमा निकुञ्ज, एनटिएनसि र वनकर्मीको प्राविधिक टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरेपछि चितुवा नियन्त्रणमा आउनेमा स्थानीय आशावादी छन् । समस्याग्रस्त चितुवाबाट अर्को क्षति हुन नदिन त्यस क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी धेरै मात्रामा परिचालन गरिएको छ। 

प्रकाशित: १५ जेष्ठ २०८२ १८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App