गणतन्त्र दिवसका अवसरमा सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) र राजसंस्थाको पक्षमा राप्रपासहितका दलले काठमाडौं एकैसाथ प्रदर्शनको तयारी गरेपछि उच्च सुरक्षा अपनाइएको छ।
गणतन्त्र दिवसका अवसरमा एमालेको कार्यक्रम भृकुटीमण्डप क्षेत्रमा सुरु भएको छ भने राप्रपासहितका दल तथा समूहले दिउँसो २ बजेपछि शान्तिबाटिकामा कार्यक्रमको तयारी गरेका छन्। काठमाडौं जिल्ला प्रशासनले एकअर्काबीच भेट नहुने गरी दुवै समूहलाई समय निर्धारण गरिदिएको छ। एमालेले आफ्नो कार्यक्रम दिउँसो २ बजेभित्र सम्पन्न गर्नुपर्ने र सो पछि राप्रपासहितका दलको कार्यक्रम सुरु हुनेछ।
एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुग्नेक्रम जारी छ। राजावादीहरूको कार्यक्रमको पनि तयारी भइरहेको छ।
यसैबीच काठमाडौं प्रशासनले राप्रपाको कार्यक्रम स्थल वरपर परिचालन हुने गरी चार हजार बढी सुरक्षाकर्मी परिचालन गरेको छ। गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शन र सोबाट उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर सुरक्षाका लागि उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एक सुरक्षा अधिकृतले बताए।
ठूलो संख्यामा सुरक्षाकर्मी शान्तिबाटिका क्षेत्रमा परिचालन भएपछि विमानस्थललगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षाको जिम्मा दिइएको छ। भृकुटीमण्डपसहित अन्य संवेदनशील क्षेत्रमा पनि २ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन भएका छन्।
प्रकाशित: १५ जेष्ठ २०८२ १३:१४ बिहीबार





