१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

अध्यागमनकै मिलेमतोमा तीन ‘मोस्ट वान्टेड’को खुला आवतजावत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कारण राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ। यस वर्ष मात्रै ‘मोस्ट वान्टेड’को सूचीमा रहेका तीन व्यक्ति विमानस्थलबाट वारपार भएका छन्। दुई भारतीय नागरिक र एक नेपाली नागरिक बिनारोकतोक आवतजावत गरेका हुन्। भिजिट भिसाको दुरुपयोगका कारण भ्रष्टाचारको अखडा बन्दै गएको विमानस्थलको कमजोर अवस्थाले राष्ट्रिय सुरक्षामा गम्भीर खतराको संकेत गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा हुने लापरबाहीदेखि भिजिट भिसामा हुने मानव तस्करी तथा सेटिङमा हुने सुनदेखि डलर तस्करीका घटना पटकपटक सार्वजनिक भइसकेको अवस्थामा पछिल्लो पटक ‘मोस्ट वान्टेट’ दुई भारतीय नागरिकलाई सहजै तेस्रो मुलुक जाने सुविधा दिइनुले मुलुकको सुरक्षा संयन्त्रबारे छिमेकी मुलुक भारतले समेत प्रश्न उठाएको छ।

भारतमा ९५ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका आरपी साह, जागेश्वर साह नाम गरेका दुई भारतीय नागरिक त्रिभुवन विमानस्थल हुँदै दुबई पुगेका थिए। उनीहरू बाबुछोरा हुन्। भारतीय दूतावासले दुवै नागरिकको पासपोर्ट कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। तर विमानस्थल अध्यागमन कार्यालयले सहजै तेस्रो मुलुक जान अनुमति दिएको देखिन्छ।

भारतीय नागरिकलाई नेपालको भूमि प्रयोग गरेर तेस्रो मुलुक जाँदा भारतीय राजदूतवासको ‘नो अब्जेक्सन लेटर’ चाहिन्छ तर अध्यागमन कार्यालयका भट्टराईले उनीहरूलाई त्यत्तिकै पठाइदिएका थिए। उनीहरू नो अब्जेक्सन लेटरबिना नै दुबई पुगेका थिए। उनीहरू विमानस्थलबाट अध्यागमन कार्यालयबाट सहजै उम्केर दुबई पुगेपछि मात्रै नेपालको अध्यागमन विभागले थाहा पाएको थियो। त्यतिबेला विभागका प्रमुख उनै भट्टराई थिए। ‘सुरुमा एउटाको नाम गएको रहेछ, अर्को नाम गएको रहेनछ, पछि अर्को पनि नाम गयो तर दुवै जना उडिसकेपछि अध्यागमन कार्यालयमा होहल्ला भयो र विभागले पनि छानबिन सुरु गरिसकेको थियो,’ अध्यागमन विभाग स्रोतले भन्यो।

यो विषयमा विभागले छानबिन गरेको र मन्त्रालयमा पनि छलफल चलेको थियो। तर मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी दुवै जना संवेदनशील भएनन्। उनीहरूले भट्टराईलाई नै त्यहाँ निर्वाध रूपमा काम गर्न दिइरहे। जब अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीका नाममा रकम असुली हुन थाल्यो तब त्यसको अनुसन्धान प्रक्रिया अघि बढेपछि मात्रै भट्टराई मन्त्रालय तानिए। उनी गत असोजमा विमानस्थल अध्यागमन कार्यालयको प्रमुख भएर गएका थिए।

भट्टराईकै संलग्नतामा ती दुई व्यक्ति उडेको थाहा पाएपछि विभागले छानबिन समिति बनाएर गृहमन्त्री रमेश लेखकलाई जानकारीसमेत दिइएको थियो। नेपालको भूमि प्रयोग गरेर तेस्रो मुलुक जाँदा भारतीय दूतावासले लेखेको ‘नो अब्जेक्सन लेटर’लाई समेत ध्यान नदिने अध्यगमनका कर्मचारीप्रति गृह मन्त्रालय मौन बसेको देखियो। त्यतिबेला भट्टराईका बारेमा छानबिन गरेको विषयमा अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालले पनि स्वीकार गरेका छन्।

‘छानबिन समिति बनेको थियो। त्यसमा व्यक्तिको कमजोरी देखिएको थिएन। मन्त्रालयमा पनि छलफल चलिरहेको छ,’ सूचना अधिकारी ढकालले भने। त्यसअघि एक नेपाली त्यसैगरी नेपाल आएका थिए। पासपोर्ट कालोसूचीमा रहेको र प्रस्थान अनुमति नदिई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाउन आग्रह गरिएको ती व्यक्ति सहजै विमानस्थलबाट बाहिरिएका थिए। त्यसबेला अधिकृत नवराज ओलीलाई देखाएर अध्यागमनका उच्च अधिकारीहरू तर्केका थिए। उनको दोष नदेखिए पनि उनी त्यहाँबाट बाहिरिएका थिए।

यस्तो घटना अहिले मात्र होइन, यही विमानस्थलको विशिष्ट कक्षको समेत प्रयोग गरेर ठगी मुद्दामा हाल विदेशमा फरार रहेका सुनसरीका रिजवान आलमलाई २०७९ भदौमा भगाइएको थियो। त्यतिबेला उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवालीले तुरुन्तै पक्राउ गर्न आदेश दिएका थिए।

त्यतिबेला उनका ठाउँमा कोही आतंकवादमा संलग्न व्यक्तिले त्यसरी भिआइपी कक्ष दुरुपयोग गरेको भए के हुन्थ्यो भन्ने प्रश्न उठेको थियो। यसमा दोषीलाई कारबाही हुन सकेको थिएन। त्यतिबेला युनाइटेड अरब इमिरेट्स (युएई) बाट आएका अरब संसद्का उपाध्यक्षलगायतको टोलीसँगै मिसिएर आलम भिआइपी कक्षमा पुगेका थिए। जबकि परराष्ट्र मन्त्रालयले अन्य चार जनाको नाम मात्र त्यहाँ दिएको थियो। त्यतिबेला मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भिआइपी कक्षअगाडिबाट उनलाई गाडीमा राखेर भगाएका थिए। यही दिन बेलुका प्रहरीले उनलाई पक्राउ गरेपछि अदालतको आदेशमा उनी हाल जेलमा छन्।

विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि बाहिरिने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी आपराधिक गतिविधिमा संलग्न छन्। सिस्टम बलियो नहुँदा कर्मचारीबाटै सुरक्षा जोखिम बढेको हो। २०८० फागुनमा एक किलो एक सय ६५ ग्राम सुन तस्करी गराउँदै गर्दा प्रहरीले अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई पक्राउ गरेको थियो।

दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन नासु गुरागाईंले विमानस्थलबाट पास गराइदिएका थिए। उनले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयमा सो सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए।

सुराकीका आधारमा प्रहरीले विमानस्थलकै आगमनतर्फको टनेलमा घिमिरेलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो। नासु गुरागाईंले धेरैपटक विमानस्थलबाट सुन पास गराउँदै आएको खुले पनि विस्तृत छानबिन भएन। विमानस्थलमा भिजिट भिसा र सुन तस्करीमा एउटै समूहको सेटिङ देखिँदै आएको छ। अहिले पनि तीर्थ भट्टराईलगायत केही कर्मचारीको सरुवा भए पनि दुई पटक अध्यगमन कार्यालय पुगेका अधिकृत दीपक पाण्डेयले सेटिङमा काम गरिरहेको रिपोर्ट अख्तियारमा पुगेको छ। तर अधिकृत पाण्डेयले आफू कुनै पनि प्रकारको सेटिङमा नलागेको बताउँदै ठाडै अस्वीकार गरेका छन्। 'म नियमित काम गरिरहेको छु। सेटिङ गर्ने वा कुनै पनि अवैध काममा मेरो संलग्नता छैन। कोही कसैले गल्ती गर्‍यो भन्दैमा सबेको नाम मुछिनु दुखद हो,' अधिकृत पाण्डेयले नागरिकसँग भने।

यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ। २०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो। जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो।

त्यस्तै २०७४ सालमा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो। विगतमा भन्सारका कर्मचारीसँगको सेटिङ हुनेमा हाल अध्यागमन कर्मचारीसँग तस्करहरूले साँठगाँठ गरेको खुलेको छ।

प्रकाशित: १४ जेष्ठ २०८२ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App