भिजिट भिसामा हुने मानव तस्करी रोक्न भनेर प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली खटाएको थियो। तर २०८० असोजमै मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाइएको थियो। प्रहरीले पुनः ब्युरोको टोलीलाई विमानस्थलमा पठाएको भए पनि अध्यागमनका कर्मचारीहरूले विरोध गरेपछि फिर्ता गरिएको थियो।
अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गरिएको तर अध्यागमनकै कर्मचारीले विरोध गरेपछि फिर्ता गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान हुँदै संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनलगायत मुलुकमा नेपाली महिलालाई गैरकानुनी रूपमा पठाउने गरिएको छ। उनीहरूलाई गैरकानुनी रूपमा पठाउन सहयोग गरेबापत पाउने रकमको हिस्सा अध्यागमन कार्यालयका कर्मचारीले गृहमन्त्रीको सचिवालय, गृहसचिव, गृह प्रशासनलाई छुट्याउने गरेको स्रोतको दाबी छ।
खासगरी भिजिट भिसामा महिलालाई दुबईमा पाठाउने कार्य रोक्न सरकारले कडाइ गरेपछि ट्राभल एजेन्सीहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव तस्करी गर्दै आएका छन्। यसमा विभिन्न एयरलाइन्स कम्पनीहरूको पनि संलग्नता देखिएको स्रोत बताउँछ। कुवेत एयरवेज र जजिरा एयरवेजबाट गैरकानुनी रूपमा नेपाली महिलालाई विदेश पठाउने गरेको स्रोतले बतायो।
प्रकाशित: १२ जेष्ठ २०८२ ०९:३९ सोमबार





