नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा सगरमाथा आरोहणको 'क्याम्प टू' पुगेका छन्। गत वैशाख २७ गते आवश्यक तालिम सकाएका शर्मा 'क्याम्प वान्' हुँदै टू पुगेका हुन्।
अब थप अगाडि जाने कि फर्किने भन्नेमा आफू निर्णयमा नपुगिसकेको उनले फेसबूकमा लेखेका छन्। यसबारे बिहीबार (आज) साँझ शेर्पाहरूसँग परामर्श गर्ने उनको योजना छ।
शर्माले रोटेसन (स्वास्थ्य समस्या नआओस् भनेर उचाइबाट झरेर पुन: चढ्ने कार्य) का लागि पनि सोचिरहेको बताएका छन्। रोटेसकै कारण सगरमाथा आरोहणमा ४०/४२ दिन लाग्ने रहेछ भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेका छन्।
आफूलाई उक्लनुभन्दा ओर्लनु गाह्रो भइरहेको पनि बताएका छन्। 'प्रशिक्षणमा म सबल उत्तीर्ण भएको उक्लिनमा हो। ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महसुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ। त्यसैले अझै माथि उक्लनुपूर्व ओर्लने क्षमता थप विकास गर्नु छ। रोटेसनले त्यो अभाव पूर्ति गर्नेछ भन्ने मानसिक र व्यावहारिक दबाब छ,' उनले लेखेका छन्।
उनले यही समयमा पासाङ ल्हामु शेर्पालाई सम्झिएको पनि उल्लेख गरेका छन्। उनी पनि चढ्दा सकुशल चढेको तर, झर्दा मृत्युवरण गर्नुपरेको सम्झिँदै उनले लेखेका छन्, 'श्रद्धेय पासाङ ल्हामुलाई स्मरण गर्दैछु- सफल आरोहण गर्नुभयो तर, अवतरण क्रममा सदैवका लागि बिदा लिनुभयो। त्यसैले पिकको नजिक पुग्नै त लागेँ भन्ने भावनात्मक आवेगभन्दा अवतरण योग्यता विकासका लागि रोटेसन र हाइकिङको व्यावहारिक सतर्कताप्रति पनि म उत्तिकै गम्भीर छु। आजको साँझ यसबारे निधो लिनु छ।'
प्रकाशित: ८ जेष्ठ २०८२ १६:२० बिहीबार