पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र संवर्द्धन गरी दिगो पर्यटन विकासका माध्यमबाट नागरिकको आयस्तरमा वृद्धि गर्ने रणनीति अख्तियार गरिने कार्यक्रमले नै स्पष्ट पार्छ कि, पर्यटनबाट अथाह सम्भावना छन् र यसबाट पालिकालाई पर्यटकीय हब बनाउन सकिन्छ।
भौगोलिक बनावटका दृष्टिले तराईको समथर भूमि, उत्तरको भावर क्षेत्र र चुरे पर्वत श्रेणी तीन भागमा विभाजन भएको छ। जसले राप्तीसोनारीलाई सुन्दर मात्र होइन, एउटा आकर्षक गन्तव्य बनाउन खोजेको छ। कर्णाली र सुदूरपश्चिमको ‘गेट वेय’ राप्तीसोनारीमा पर्यटकीय सम्भावना अथाह छन्। पर्यटन व्यवस्थित र उद्योगतर्फ अगाडि बढाउने हो भने, यहाँको समृद्धि सम्भव छ।
तीन नम्बर वडाको ऐतिहासिक भुवरभवानी मन्दिर, चार नम्बर वडाको बर्फानी बाबा मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सिक्टा बाँध, एक नम्बर वडाको गाई लेख, सोही वडाको खर्चे ताल, ढकेरीमा थारु होम–स्टे, वडा नम्बर दुईको गोभारपुर र नाैं को बुचापुरमा हात्तीसार, नाैं नम्बर वडामा रहेको वनस्पति उद्यान, झरना, मठ मन्दिर, पार्कहरू राप्तीसोनारीका प्रमुख पर्यटकीय क्षेत्र हुन्।
यी क्षेत्रले पर्यटक मात्र पर्खिरहेका छैनन्, राज्यको लगानी र प्रचारप्रसार खोजिरहेका छन्। लगानी र प्रचारप्रसार अभावमा यहाँका पर्यटकीय क्षेत्र अहिले ओझेल परेको अवस्थामा छन्। पछिल्लो समय आन्तरिक पर्यटकहरूको आवागमन बढ्दो भए पनि त्यो पर्याप्त छैन।
बाँके राष्ट्रिय निकुञ्जमा सडक पूर्वाधार छ। पूर्व–पश्चिम राजमार्ग यही निकुञ्जभित्र छ। जसले निकुञ्जसम्म पुर्याउन ठूलो योगदान दिएको छ। त्यस्तै भुवरभवानीमा सडक सञ्जाल छ।
पालिकाले मठमन्दिरहरू निर्माण गरेको छ। यहाँ आउने पर्यटकका लागि स्थानीय सरकारले खानेपानीको समेत व्यवस्था मिलाएको छ। आश्रयका लागि प्रदेश सरकारले धर्मशाला पनि निर्माण गरेको छ। यहाँसम्म आउने भक्तजनहरूका लागि यो उपयुक्त मानिएको छ।
बफार्नीमा राप्तीसोनारी गाउँपालिकाले गोरेठो बाटो निर्माण गरेको छ। स्थानीय सरकारले मठमन्दिर, प्रदेश सरकारले खानेपानी आश्रय टहराहरू निर्माण गरेको छ।
राप्ती नदीमा र्याफ्टिङको त्यतिकै सम्भावना छ। साहसिक र्याफ्टिङ नेपालकै पर्यटन क्षेत्रको आकर्षण मानिन्छ। यसले यहाँको आयआर्जनलाई सघाउने यहाँका स्थानीय अमरबहादुर बुढाथोकीले बताए। ‘र्याफ्टिङ सञ्चालनमा आयो भने बाँकेका मात्र होइन, अन्य क्षेत्रबाट पनि पर्यटक आउन सक्छन्,’ उनले भने, ‘यहाँ पर्यटकको घुइँचो बढ्न थाल्यो भने, यहाँकै व्यापार वृद्धि हुने।’
पर्यटनले विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सयौंंलाई रोजगारी सिर्जना गर्ने, अनुपम प्राकृतिक छटा, बहुसंस्कृति र गौरवशाली इतिहासलाई परिचित गराउने काम पनि हुने उनको भनाइ छ।
यहाँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक, खेलकुद, होमस्टेजस्ता पर्यटनको पनि सम्भावना छ।
थारु नाच होस् कि धान नाच, माघी होस् कि गौरा पर्व, र्याफटिङ, जंगल सफारी होस् वा ट्रेकिङ सबैको आआफ्नै महत्त्व र आकर्षण छ। यहाँको पर्यटनमा अनगिन्ती सम्भावना छन्। ती सबैको स्वाद लिन अनगिन्ती पर्यटकहरू आउन सक्छन् र राप्तीसोनारीले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा धेरै फाइदा लिन सक्छ, अवसरहरू सिर्जना गर्न सक्नुपर्छ।
पर्यटन भनेको एक व्यक्ति र संस्था मात्रको सहभागितामा एक व्यक्ति र संस्था मात्रलाई फाइदा दिने कुरा होइन, यो त धेरै व्यक्ति र धेरै संस्थालाई सहभागी गराएर धेरैले फाइदा बाँड्ने—लिने प्रक्रिया हो। भारतीय सीमा क्षेत्रसँग जोडिएकाले यहाँ भारतबाटसमेत उल्लेख्य रुपमा पर्यटकहरू आउन सक्छन्।
यस वर्ष पालिकाले पर्यटकीय पूर्वाधार सुधार, होम–स्टे प्रवर्द्धन तथा होटेल व्यवसायीलाई तालिमको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।
‘धर्म, संस्कृतिलाई पर्यटन क्षेत्रको विकाससँग जोड्दै आर्थिक क्षेत्रलाई गतिशील बनाइने छ,’ उनले भने, ‘यसका लागि पालिकाले ५० लाख रुपैयाँसमेत विनियोजन गरेको छ।’
राप्तीसोनारीको पर्यटक विकासका लागि त्रिपक्षीय मोडेल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए। ‘प्रदेश र संघ सरकारसँगै स्थानीय र अन्य संघसंस्था जोडिन खोजेका छौं,’ उनले भने, ‘यहाँका जैविक पार्क र तालतलैया संरक्षण र संवर्द्धन गरेका छौं।’
धार्मिक मठ मन्दिर निर्माणको काम र उनीहरूको संरक्षण गर्ने काम पनि भइरहेको उनको भनाइ छ। सिक्टा सिँचाइ आयोजनाको बाँध स्थलमा बोटिङ सञ्चालन गर्ने तयारी भएको भन्दै उनले भने, ‘यसका लागि केही प्राविधिक कुरा तयारी भएका छन्। सम्भवतः अर्को आर्थिक वर्षदेखि यहाँ बोटिङ सञ्चालन हुन्छ।’
यसलाई राप्तीसोनारीको सौन्दर्यीकरणसँग जोडेर लगिने उनको भनाइ छ। यससँगै ‘वाटर’ क्रियाकलापमा ध्यान दिइएको छ। राप्तीसोनारी गाउँपालिकामा राप्ती नदी बहन्छ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउन नसकिएको भन्दै उनले भने, ‘निकुञ्जसँग समन्वय भइरहेको छ। अब पर्यटक बढाउने रणनीति तयार गरेर अगाडि बढ्छौँ।’ बफार्नी चुरे क्षेत्र भएकाले यहाँ पदमार्गसमेत निर्माण गरिने उनले जनाए।
प्रकाशित: ३ जेष्ठ २०८२ २०:२८ शनिबार