७ असार २०८२ शनिबार
image/svg+xml
समाज

आमा समूहसँग उपमेयर : महिलालाई बाँसका सामग्री बनाउने तालिम

बेनी नगरपालिकाले ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नं १ रत्नेचौरका महिलालाई बाँसका सामग्री बनाउने तालिम दिएको छ। 

आयआर्जनमूलक व्यवसायमा जोडेर आत्मनिर्भर, स्वरोजगार बनाउने र लैङ्गिक हिंसा घटाउने उद्देश्यले सञ्चालित यो कार्यक्रममा १६ महिलाले बाँसबाट सजावटका सामग्री र मुडा बनाउने १५ दिने तालिम लिए। 

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० महिलालाई व्यावसायिक च्याउखेती तालिम, बीउ र प्लास्टिक घर सहयोग गर्ने योजना रहेको बताइन्। 

तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडा, स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताइन्। उनले व्यावसायिक रूपमा सामान उत्पादन गरी बाँसको प्रयोग र सीप उपयोग गर्ने योजना बनाएकी छन्। 

समुदायमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गर्ने आमा समूहसँग समन्वय गरी स्थानीय स्रोत र सम्भावना भएको उद्यम व्यवसायमा महिलालाई जोड्न बेनी नगरपालिकाले यस वर्ष रत्नेचौर र वडा नं ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ। 

‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउने वातावरण बन्छ,’ उपप्रमुख लामिछानेले भनिन्, ‘आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।’ 

पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउखेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम दिइएको छ। च्याउखेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, बीउ र एक/एक वटा टनेल सहयोग गरिएको छ। तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि दिइएको छ। रासस

प्रकाशित: ३ जेष्ठ २०८२ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App