चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा उम्मेदवारहरू आफैँ सरसफाइमा जुटेका छन्।
प्रचार–प्रसारका क्रममा प्रयोग गरिएका पर्चा, पम्प्लेट र भिजिटिङ कार्डका कारण महाधिवेशनस्थलमा भएको फोहर उम्मेदवारहरूकै सक्रियतामा संकलन गरिएको हो।
प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनालको नेतृत्वमा उम्मेदवारहरूले सरसफाइ गरेका हुन्। खनालसँगै अर्का उम्मेदवार एवं प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिहरू सरसफाइमा सहभागी थिए।
रास्वपाको बन्दसत्र भइरहेको उद्योग सङ्घको गेट बाहिर छरिएका पर्चा, पानीका बोतल र चुनावी सामग्रीहरू संकलन गरी सो क्षेत्रलाई ‘क्लिन’ बनाइएको छ। उम्मेदवार खनालले रास्वपा फोहर सफा गर्नकै लागि आएको पार्टी भएकाले आफ्नै कारणले भएको फोहर आफैँले सफा गरेको बताए।
‘देशमा भएको फोहर सफा गर्न आएको पार्टीले आफ्नै आँगनमा फोहर गर्नु हुँदैन भनेर हामी आफैँ जुटेका हौँ,’ खनालले भने, ‘चाहे राजनीति होस् वा वातावरण, रास्वपा सफाइ गर्ने अभियानमा सधैँ प्रतिबद्ध छ।’
उनले उम्मेदवारहरूलाई प्रचारका क्रममा पर्चा र पम्प्लेटले फोहर नगर्न र डिजिटल प्रविधिको प्रयोग गर्नसमेत आग्रह गरे।
सुरुमा प्रचार सामग्री वितरण गरे पनि धेरै उम्मेदवारका कारण फोहर देखिएपछि उम्मेदवारहरूले जरिवाना स्वरूप आफैँले संकलन गर्ने निर्णय लिएका थिए। यसअघि भित्ताहरूमा टाँसिएका र भुईँमा छरिएका सामग्री हटाएपछि महाधिवेशनस्थल अहिले सफा देखिएको छ।
प्रकाशित: १० असार २०८३ १८:२७ बुधबार





