न्यूरोवैज्ञानिकहरूले मस्तिष्कको तरंगलाई प्रयोग गरेर मूक व्यक्तिलाई पनि बोल्न र कुराकानीमा सक्षम बनाउनेतर्फ प्रयास गरिरहेका छन्। यसका लागि वैज्ञानिकहरूले चिप इम्प्लान्ट (रोप्ने) र कृत्रिम बुद्धिमताको संयोजन गरी आवाज उत्पन्न गर्ने भएका छन्। यस्तो इम्प्लान्टबाट गम्भीर रूपमा अशक्त व्यक्तिहरूलाई कम्प्युटर किबोर्ड सञ्चालन गर्न, रोबोटिक हात नियन्त्रण गर्न र शारीरिक क्षमता पुनः प्राप्त गर्न सहयोग हुने देखिएको छ। केही प्रयोगशालाले त विचारलाई बोलीमा परिणत गर्ने प्रविधिमा समेत ध्यान केन्द्रित गर्न थालेका छन्।
गत महिना नेचर न्यूरोसाइन्स पत्रिकामा प्रकाशित लेखअनुसार, वैज्ञानिकहरूले हालै चार वटा अंगभंग भएकी महिलासँग मिलेर काम गरिरहेका छन्। १८ वर्षदेखि उनी बोल्न अक्षम थिइन्। तर वैज्ञानिकहरूको प्रयासले हजार भन्दा बढी वाक्यहरू बोल्ने प्रयास गरिन् र उनको मस्तिष्कको डेटा संकलन गरेर संयुक्त बोली बनाउन सफलता हासिल गरिएको छ।
यो नयाँ प्रविधिले मस्तिष्कको संकेत र अघिल्लो आठ सेकेन्डको अडियोबाट बोली बनाउन सफलता हासिल गरेको छ। कतिपय बोलीलाई मिलिसेकेन्डहरूमै मध्यम रूपमा डिकोडिङ गर्न सफल भयो। यो सामान्य कुराकानीको गतिभन्दा केही सुस्त त हो तर यो ठूलो सफलता भएको वैज्ञानिकहरूको दाबी छ।
हरेक वर्ष हजारौं मानिसहरूले मस्तिष्कघात, न्यूरोडिजेनेरेटिभ रोग र अन्य मस्तिष्क समस्याका कारण बोली गुमाउने गरेका छन्। यो अनुसन्धान सफल भए यो प्रविधिलाई न्यूरोसमस्या भएका व्यक्तिलाई सहयोग गर्न सक्ने देखिएको छ। यो प्रविधिले मस्तिष्कघात, अटिजम भएका व्यक्तिहरूलाई पनि सहयोग गर्न विस्तार गर्न सकिने देखिएको छ। ३१ रोगीहरूलाई यसको सफल उपचार गरिएको वैज्ञानिकहरूले दाबी गरेका छन्।
गएको वर्ष नै यस्तो उपचारका लागि अमेरिका र बेलायती अनुसन्धाताहरूलाई स्वीकृति दिइएको थियो। अझै पनि यो प्रविधिको समुच्च उपयोगका लागि बुझाइ र न्यूरल गतिविधिलाई बोलीमा अनुवाद गर्ने राम्रो एल्गोरिदमको विकास गर्नुपर्ने हुन्छ। जति यो बढ्यो उति बोलीको गुणस्तर बढ्ने छ। स्वर उति शुद्ध बन्ने छ।
अझै पनि बोलीको गुणस्तर कायम गर्न वैज्ञानिकहरू संघर्ष गरिरहेका छन्। यसका लागि रोगीको मस्तिष्कमा चिप जडान गरी एआईको प्रयोगबाट बोली उत्पन्न गर्नुपर्ने निष्कर्ष र त्यसतर्फ थोरै भए पनि सफलता हासिल भएकामा वैज्ञानिकहरू उत्साहित छन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १ जेष्ठ २०८२ ०७:३३ बिहीबार





