१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

प्रज्ञाप्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ समर्पण

नेपाल प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्‍याउने १० स्रष्टालाई पुरस्कार प्रदान गरेकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका संरक्षक, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

प्रमुख अतिथि मन्त्री पाण्डेले पानसमा दीप प्रज्वलन गरेर प्रज्ञा पुरस्कार २०८१ समर्पण समारोहको उद्घाटन गरेका हुन्।

‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मी, दिल साहनीलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य), कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ र भारतका भविलाल लामिछानेलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ समर्पण गरिएको थियाे।

उक्त प्रज्ञा पुरस्कारको राशि जनही एक लाख रूपैयाँ र ताम्रपत्र रहेको छ। समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आफ्नै प्रयास र सदिच्छामा प्रतिष्ठानले पुरस्कार स्थापना गरेको भन्दै प्रसन्नता प्रकट गर्दै पुरस्कारले स्रष्टा र परिवारलाई समेत प्रेरणा प्रदान गर्ने बताएका थिए।

खास लेखकले मानिसलाई विश्वस्त दिलाउन सक्नुपर्नेमा जोड दिंदै निराशा सञ्चार गर्नु नहुने बताएका थिए। लेखकहरूले भविष्यकाे समेत मार्ग दर्शन गर्दै समग्र बेथितिविरुद्ध आवाज उठाउँदै राष्ट्रभक्तिमा जोड दिनुपर्ने बताए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले पुरस्कृत प्रतिभालाई बधाई ज्ञापन गर्दै एकल जातीय भाषिक संरचना अझै नबदलिएकाले सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताए।

समारोहका सभाध्यक्ष तथा प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै भाषा, साहित्य,संस्कृति नै पहिचाहन भएको बताउँदै १२४ भाषाको ज्ञान प्रणालीसँग प्रज्ञाप्रतिष्ठान एकाकार हुनुपर्नेमा जोड दिंदै प्रज्ञाको घर हार्डवयर भएजस्तै यसभित्रका सफ्टवेयर भनेका दिमाग र चिन्तन भएको बताए। प्राज्ञिक चिन्तन नै मुख्य रहेको कुरा कुलपति राईले बताए।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उद्घोषणका क्रममा कार्यक्रमको ओचित्यमाथि प्रकाश पार्दै विशिष्ट योगदान पुयाएका विधागत प्रतिभालाई पुरस्कृत गरिएको बताए।

प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले स्वागत मन्तव्यका क्रममा प्राज्ञिक योगदान पुर्‍याएका विशेष व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले पुरस्कृत स्रष्टा व्यक्तित्वको विधागत योगदानबारे चर्चा गर्दै खास समयमा सिर्जनात्मक र अनुसन्धानात्मक योगदान गरेकालाई नै प्रज्ञाप्रतिष्ठानले पुरस्कार प्रदान गरेको बताए।

समारोहमा पुरस्कृत स्रष्टाका तर्फबाट गोपीरमण उपाध्याय , शारदारमण नेपाल, जसराज किराती, दिल साहनी, भविलाल लामिछाने, डा. बलराम अधिकारीले मन्तव्य राखेका थिए।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर २०८१ साल फागुन ९ गतेका दिन ‘पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेस क्षेत्रतर्फ कमलसिं रानालाई मातृभाषा साहित्य पुरस्कार २०८१’ समर्पण पहिल्यै गरेको थियो।  

प्रकाशित: ३१ वैशाख २०८२ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App