७ असार २०८२ शनिबार
image/svg+xml
समाज

को थिए प्रिसाका चार साथी जसले सधै ‘ह्यारेस्मेन्ट’ गरिरहन्थे ?

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु  प्रकरणमा भारतीय चार विद्यार्थीको नाममा मौखिक उजुरी परेको छ।

उडिसास्थित भुवनेश्वर प्रहरीमा प्रिसाका बुबा श्याम साहले मौखिक उजुरी दिएका छन्। यद्यपि भुवनेश्वर प्रहरीले यो विषयमा भने केही खुलाएको छैन।

भुवनेश्वर प्रहरी कमिस्नार डा. सुरेशदेव दत्त सिंहले प्रिसाको परिवारबाट मौखिक जानकारी (बयान) लिएको मात्रै बताए। ‘हाम्रो अनुसन्धानमा केही कुरा देखिएका छन्, अनुसन्धानमा भएको विषय प्रिसाको परिवारलाई मात्रै भन्न सकिन्छ’, कमिस्नार सिंहले भने।

परिवारका सदस्यले विश्वविद्यालय प्रशासन र प्रहरी प्रशासन समक्ष भारतीय चार विद्यार्थीहरुले प्रिसालाई सधै ह्यारेस्मेन्ट गरिरहेको जानकारी गराएका थिए।

कक्षा कोठा र छात्रावासमासगै रहेका भारतीय विद्यार्थीले ह्यारेस्मेन्ट गरेको जानकारी गराइएको भएपनि सो विषयमा विश्वविद्यालय प्रशासन मौन रहेको छ।

ती विद्यार्थीहरु को को थिए भन्ने बारेमा केही खुलेको छैन। ‘परिवारका सदस्यका अनुसार कक्षा कोठामा झगडा भएको थियो, खाना खाने बेलामा पनि झगडा भएको थियो, साथीहरुले जिस्काइरहन्थ्यो, मुख्य झगडा पढाईमा थियो,’ परिवारका एक सदस्यले जानकारी दिए। प्रहरीले १० जना विद्यार्थीसँग सोधपुछ गरिरहेको छ।

प्रिसाको रुममा रहेका दुई भारतीय विद्यार्थी विदामा घर गएका कारण उनीहरुसँग सोधपुछ गर्न पाएको छैन। प्रहरीले उनीहरु फर्केपछि बयान लिने जनाएको छ।

अहिलेसम्म ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट आएको छैन। भुवनेश्वर प्रहरीले दिएको जानकारी अनुसार पोष्टमार्टमा रिपोर्टमा कुनै संदिग्ध विवरण फेला परेको छैन।

मोबाइल र ल्यापटपमा देखिएको विवरणको आधारमा अनुसन्धान गर्न प्रहरीलाई सहज हुने जनाएको छ। किट विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्युको तीन महिनापछि १८ वैशाखमा पर्साकी प्रिसा साह पनि होस्टेलमा मृत भेटिएकी थिइन।

किटमा भारतीयपछि धेरै नेपाली विद्यार्थीहरु अध्ययन गर्छन। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार केआइआइटीमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्।

अहिले विदेशी विद्यार्थीहरुलाई किट विश्वविद्यालय प्रशासनले काउन्सिलिङ सुरु गरेको छ। साथै भुवनेश्वर प्रहरीले उडिसामा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई काउन्सिलिङ गरिरहेको छ।

पढाइमा अब्बल प्रिसा

विश्वविद्यालय प्रशासनले प्रिसा पढाइमा अब्बल रहेको जनाएको छ। बुधबार दिउँसो नागरिकसँगको भेटमा विश्वविद्यालय प्रशासनले तत्काल कुनै धारणा सार्वजनिक नगर्ने बताए पनि प्रिसा पढाइमा अब्बल रहेको जनाएको हो।

प्रिसा प्रथम वर्षको परीक्षा दिन विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन्। विश्वविद्यालय प्रशासनले दिएको जानकारी अनुसार अघिल्लो सेमेस्टरमा उनले ८० प्रतिशत नम्बर ल्याएकी थिइन्। प्रिसा एक वर्षअगाडि मात्रै अध्ययनका लागि नेपालबाट यहाँ आएकी थिइन्।

*अनुसन्धान जारी रहेकाले आरोपी चार छात्राको नाम सार्वजनिक गरेका छैनौं - सम्पादक 

प्रकाशित: २५ वैशाख २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App