१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तस्कर समात्न खोज्दा तीन मोटरसाइकल ठोक्कियो, तीन घाइते

रौतहटको कटहरिया नगरपालिका–४ स्थित बकैया पुल नजिकै तस्करलाई समात्ने प्रयासमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।

भारतबाट तस्करी गरी ल्याइएको आशंकामा सशस्त्र प्रहरीले लखेटेका बेला एकपछि अर्को गरी तीनवटा मोटरसाइकल आपसमा ठोक्किएको हो।

सशस्त्र प्रहरी बलको दुधियाभारस्थित बेस क्याम्पमा कार्यरत हवलदार सुवास सिंहले बुधबार दिउँसो भारततर्फबाट तस्करीको सामान लिएर आइरहेका एक मोटरसाइकल चालकलाई रोक्न खोजेका थिए।

प्रहरीलाई देखेपछि ती व्यक्ति भाग्ने क्रममा सिंहले लखेट्दा ग ४ प ४०७३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको भारतीय नम्बर प्लेटको बिआर ३० पि ७९३६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।

त्यस क्रममा हवलदार सिंह आफैं सवार बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल समेत ठोक्किएपछि दुर्घटनामा परेकाहरू थप घाइते भएका थिए।

दुर्घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार फतुवा बिजयपुर नगरपालिका–४ टेंग्राहाका करिब ३५ वर्षीय दिलीप कुमार साह र ४८ वर्षीय अनुठा यादव घाइते भएका छन्।

घाइते दुवैजनाको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। तीमध्ये दिलीप कुमार साहको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनामा सशस्त्र प्रहरी हवलदार सिंह पनि घाइते भएका छन्। उनको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कारोबारी भने सामान र मोटरसाइकल छाडेर फरार भएका छन्। फरार व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए।

घटनापछि आक्रोशित स्थानीयवासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थानीयले हवलदार सिंहमाथि कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कटहरिया घेराउ गरेका थिए।

सयौँको संख्यामा भिड जम्मा भई केही समय वातावरण तनावग्रस्त बनेको भए पनि स्थिति अहिले सामान्य भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८२ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App