भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युसम्बन्धमा कुनै उजुरी नपरेको भारतीय प्रहरीले जनाएको छ । उनको आत्महत्या सम्बन्धमा अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीका एक अधिकारीले प्रिन्साको परिवारले घटनाको उचित अनुसन्धान गरी न्याय गरिदिन आग्रह गरेपनि कुनै उजुरी नदिएको जानकारी दिएका हुन् ।
ओडिसा प्रहरी कार्यालय स्रोतले भन्यो, ‘प्रिसाका बुबा श्यामलाल साह कलवारले कोहीसँग पनि शंका नलागेको भनेपछि ओडिसा प्रहरीले उनीहरूलाई धेरै अलमल्याउन चाहेन । उहाँले मृत्यु प्रमाणपत्र लिएर जानुभयो।’
परिवारका सदस्यहरु नै नेपाल फर्केपनि भुवनेश्वर प्रहरीले प्रिन्साको मृत्यु सम्बन्धमा भने अनुसन्धान जारी राखेको छ । परिवारका सदस्यहरू भारतीय प्रहरीलाई अरू केही नबताई ‘अनुसन्धान मात्रै गरिदिनु’ भनेर मृत्यु प्रमाणपत्र लिएर मंगलबार नेपालतर्फ हिँडेपछि प्रहरी भने अन्योलमा परेको छ। तथ्यजाँचका लागि गरिएको पोस्टमार्टम रिपोर्टमा मृत्युको कुनै कारण खुल्न सकेको छैन। यिनै कारणले गर्दा अनुसन्धान अघि बढ्न नसकेको ती प्रहरी अधिकारी बताउँछन् ।
यो पनि पढ्नुहोस्
स्थलगत रिपोर्टिङ : प्रिसाको शंकास्पद मृत्युबारे कलेज प्रशासन मौन
भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माले मंगलबार बिहान पोस्टमार्टम रिपोर्टबाट कुनै कारण खुल्न नसकेको बताए। प्रिसाको मृत्युबारे ओडिसा प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी शर्माले जानकारी दिए। यद्यपि ओडिसास्थित पुलिस कमिस्नर कार्यालय स्रोतका अनुसार ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट नआईकन जाँचपड्ताल अघि बढ्दैन। ‘पोस्टमार्टम रिपोर्ट आएको छ। ल्यापटप र मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट आउन बाँकी छ। त्यसपछि शंकास्पद देखिए थप जाँचपड्ताल हुनेछ,’ ओडिसास्थित पुलिस कमिस्नार कार्यालयका एक अधिकारीले भने।
‘स्किम बी’ पढ्ने प्रिसासँग सिनियर दुई भारतीय विद्यार्थी ‘रुममेट’ थिए। उनीहरू घर गएका बेला प्रिसाको मृत्यु भएको खबर विश्वविद्यालयमा फैलिएको थियो।
ओडिसास्थित भुवनेश्वर प्रहरीले अन्य १० विद्यार्थीसँग सोधपुछ गरिरहे पनि कुनै निचोडमा भने पुग्न सकेको छैन । एक विद्यार्थीले भने, ‘बिहीबार दिउँसो पढ्न पनि आएकी थिइन, साँझ सुसाइडको खबर आयो।’
अहिले विश्वविद्यालयमा विभिन्न सेमेस्टरका परीक्षा चलिरहेको छ ।
प्रकाशित: २४ वैशाख २०८२ १८:५३ बुधबार