१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गाउँमै सेनाको स्वास्थ्य शिविर : ५५६ जना लाभान्वित

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६, दाँते ओखर गाउँमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५५६ जना लाभान्वित भएका छन्।  

लामो समयदेखि घाँटीको समस्याबाट पीडित ८५ वर्षीय धर्मे सार्कीले गाउँमै उपचार पाएपछि राहत महसुस गरे। उनले भने, ‘लामो समयदेखि मलाई घाँटीको समस्या छ। गाउँमा शिविर हुँदा आर्थिक भार नपरेर सहज, सस्तो र सुलभ स्वास्थ्य सेवा पाएँ। यस्ता शिविर नियमित सञ्चालन हुनुपर्छ।’  

गाउँपालिका–५, लुड्कुकी ७२ वर्षीया जयलक्ष्मी उपाध्यायले पनि खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा पाइन्छ, तर स्त्रीरोगको उपचारका लागि सदरमुकाम, सुर्खेत, नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता छ। गाउँमै जाँच पाएपछि खुसी छु।’  

सोही वडाकी ५० वर्षीया जौकला कामीलाई पेटको समस्याले सताउँथ्यो। उनले भने, ‘म पेटको बिरामी छु। उपचारका लागि ठूलो अस्पताल जानुपथ्र्यो। यो पटक गाउँमै उपचार पाएँ।’  

शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, दन्तरोगलगायत ओपीडी सेवासम्बन्धी उपचार गरिएको थियो। जसमध्ये ३१९ महिला, १८४ पुरुष र ५३ बालबालिका लाभान्वित भएको देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले बताए। उनले भने, ‘सहरमा स्वास्थ्य सेवा सहज छ, तर गाउँमा सहज उपचार नपाएर रोग लुकाएर बस्नुपर्ने अवस्था छ। यो शिविरले नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउँछ।’  

शिविरमा निःशुल्क उपचार, परामर्श र औषधि वितरण गरिएको थियो। नं. २४ गुल्मका डाक्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनरल फिजिसियन, स्त्रीरोग र दन्तरोग विशेषज्ञसहितको टोलीले सेवा प्रदान गरेको थियो।  

कनकासुन्दरी–६ को गोरुचौर आधारभूत विद्यालयमा पहिलो पटक आयोजित शिविरमा हिमा, सिंजा, तातोपानी, तिला र कनकासुन्दरी गाउँपालिकाका बिरामीले उपचार पाए। कालिकोट र मुगुका बिरामी पनि आएका थिए।  

स्थानीय दिपेन्द्रप्रसाद उपाध्यायले आर्थिक अवस्था कमजोर भएका बिरामी बढी लाभान्वित भएको बताए। गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले भने, ‘सेनाको स्वास्थ्य शिविरले ग्रामीण बस्तीका नागरिकले घरदैलोमै उपचार पाए। यो शिविरले ठूलो राहत दिएको छ।’  

नेपाली सेना, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कनकासुन्दरी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो। शिविरको अवलोकन नं. २४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी लोकेश केसी, गणपति धिरज थापा, मेजर रामेश्वर कार्की र रनवराज सुवेदीले गरेका थिए।  

क्याप्सन: नेपाली सेनाको शिविरमा स्वास्थ्य जाँच गराउँदै बिरामी। तस्बिर: गोल्डेन बुढा/नागरिक  

प्रकाशित: २४ वैशाख २०८२ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App