मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने अत्यधिक विषादी प्रयोग भेटिएपछि धरानमा ल्याइएको दुई हजार ४४२ केजी काउली नष्ट गरिएको छ।
मकवानपुरको पालुङबाट धरान–१३ स्थित कृषि उपज बजारमा विक्रीका लागि ल्याइएको काउलीमा विषादी परीक्षण गर्दा अर्गानोफस्फेट समूहको ९७.४ प्रतिशत विषादी अंश भेटिएको कृषि प्रयोगशालाले जनाएको छ। साथै काउलीमा कार्बामेट समूहको विषादी समेत प्रयोग गरिएको पाइएको छ।
कृषि उपज बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार व्यापारी सन्तोष ढकाल र विशाल चौधरीद्वारा ल्याइएको काउली परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो।
स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्ने यस्ता विषादीका कारण उपभोक्ताले मन्द विष सेवन गरिरहेको गुनासो बढेपछि नियमित परीक्षणलाई तीव्र बनाइएको हो।
विषादी परीक्षणपछि बजारमा पठाइसकेको काउलीको प्रतिवेदन अत्यधिक विषादीयुक्त देखिएपछि कृषि बजार व्यवस्थापन समिति, इलाका प्रशासन, इलाका प्रहरी, नगर प्रहरीको संयुक्त टोलीले बजारबाट फिर्ता संकलन गर्यो।
त्यसपछि धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघा र वडा नं. १३ का वडाध्यक्षको उपस्थितिमा उक्त काउली नष्ट गरिएको हो।
सो अवसरमा उपप्रमुख बेघाले हरेक व्यापारीले ल्याब परीक्षण गरेर मात्र तरकारी विक्री वितरण गर्नुपर्ने कडाइका साथ निर्देशन दिएका छन्।
प्रकाशित: २३ वैशाख २०८२ १८:४३ मंगलबार