१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

१३ बुँदे रुवीभ्याली घोषणापत्र जारी गर्दै सकियो न्यायिक सम्मेलन

धादिङको पर्यटकीय भूमि रुवीभ्याली गाउँपालिकामा शनिबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन आइतबार १३ बुँदे 'रुवीभ्याली घोषणा पत्र, २०८३' जारी गर्दै सम्पन्न भएको छ ।

स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, निष्पक्ष, पारदर्शी, उत्तरदायी र जनविश्वासयुक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनमा बागमती प्रदेश अन्तर्गतका एक सय १९ स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागीहरूले स्थानीय स्तरमा न्याय सम्पादनका अनुभव, चुनौती, अवसर तथा असल अभ्यासहरूको आदान–प्रदान गरेका थिए ।

जारी घोषणा पत्रमा स्थानीय न्याय प्रणालीको सुदृढीकरण र न्यायमा सहज पहुँच विस्तारका लागि महत्वपूर्ण प्रतिबद्धताहरू समेटिएका छन् । प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना कानून अधिकृतको स्थायी दरबन्दी सिर्जना गर्न आवश्यक प्रबन्ध मिलाउने र दक्ष जनशक्तिका लागि संघीय तथा प्रदेश सरकारसँग पहल गर्ने उल्लेख छ ।स्थानीय न्याय प्रणालीलाई नागरिकको भरोसायोग्य 'न्यायको पहिलो घर' र स्थानीय सरकारलाई 'जनताको न्यायको मन्दिर' का रूपमा स्थापित गर्न हामी दृढ संकल्पित छौँ," घोषणा पत्रको अन्त्यमा भनिएको छ ।

न्यायिक समितिबाट भएका निर्णय र मिलापत्रहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरूसँग समन्वय गरिने र कानुनी साक्षरता कार्यक्रमलाई गाउँ-गाउँसम्म विस्तार गरिने प्रतिबद्धता समेत सम्मेलनले जनाएको छ । रुवि भ्यालीमा भएको यस सम्मेलनले रुविभ्यालीको पर्यटन प्रवर्दनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित: १७ जेष्ठ २०८३ १८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App