नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध किराँती राष्ट्रिय मुक्तिमोर्चाको दक्षिण कोरिया भेला अयोजक कमिटी गठन भएको छ। वैशाख २२ गते सोमबार सम्पन्न भेलाले त्यहाँ कार्यरत किराँती युवाहरूलाई सङ्गठित बनाएको हो।
किराँती समुदायको महान् चाड ‘साकेला उभौली ५०८४’को शुभकामना आदानप्रदान गर्दे सम्पन्न भर्चुअल भेलाले खोटाङका सञ्जाल किराँतीको संयोजकत्वमा २३ सदस्यीय ‘किराँती राष्ट्रिय मुक्तिमोर्चा, दक्षिण कोरिया भेला आयोजक कमिटी’ गठन गरेको हो।
कमिटीको सदस्यमा भोजपुरका राम साम्पाङ, खोटाङका टियास राई, उदयपुरका प्रदीप राई र देव राई, सोलुखुम्बुका उत्तम कुलुङ, ओखलढुङ्गाका च्वाईस किराँती ‘बिगब्याङ’ र दुर्याेधन राई, मोरङका सागर किराती रहेका छन्। त्यस्तै धनकुटाका निर्मल राई, उदयपुरका सिम्पल राई, डिम्पल राई, भोजपुरका फूलमान राई र ज्योतिहाङ राई, उदयपुरकै जीवन चामलिङ, सोलुकै अनिश कुलुङ पनि सदस्य छन्। खोटाङका अनोज चामलिङ, सोलुकी हिरादेवी राई र लोचन थुलुङ, खोटाङका लोकेन्द्र राई, सुनसरीका भरत राई, भोजपुरका देवान चामलिङ र उदयपुरकै किसन राई पनि सदस्य छानिएका छन्।
प्रवासमा कार्यरत किराँती समुदायलाई एकत्रित गर्दै पहिचान, समृद्धि र विकासको अभियामा आवाज उठाउने उद्देश्यले कोरियाको विभिन्न ठाउँमा पेसा व्यवसाय गर्दै आएका युवाहरूलाई कमिटीमा आबद्ध गराइएको किराँती राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष अशोक राईले बताए। अहिलेको विज्ञान प्रविधिको युगमा संसारभर छरिएर रहेका किराँती युवाहरू प्रविधिकै प्रयोगमार्फत एकजुट भएर पहिचान, अधिकार र परिवर्तनका लागि योगदान गर्न सक्ने आसयले कमिटी गठन गरिएको उनले बताए।
प्रवासमा रहँदा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई नेपाली समाज र राष्ट्र निर्माणमा सदुपयोग गर्न सुझाउँदै राईले त्यसले समुदाय, समाज र देशलाई समृद्धितर्फ अग्रसर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए। सङ्घीयता र गणतन्त्रका लागि भएको १० वर्षे जनयुद्ध सफल पार्न महत्वपूर्ण भूमिका खेलेको किराती राष्ट्रिय मुक्तिमोर्चा पहिलो संविधानसभा निर्वाचनपछि निस्कृय हुँदै गएको भन्दै उनले मोर्चाको निस्कृयताले इतिहास र पहिचानको मुद्दा ओझेलमा पर्दै गएको बताए।
भेलामा माओवादी प्रवास सङ्गठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडाले माओवादीले अब पहिला गरेको गल्ती सच्याउँदै आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याइ अघि बढ्नुपर्ने बताए। उनले विश्वभर छरिएर रहेका ऊर्जाशील किराँती युवाहरू मोर्चामा सङ्गठित भई ऐतिहासिक पहिचानको मुद्दा र वर्गीय आन्दोलन सफल पार्ने अभियानमा सामेल हुन आव्हान गरे। दक्षिण कोरियामा मोर्चाको आयोजक कमिटी गठन गर्नु पहिलो र सुखद कदम भएको पनि खतिवडाले बताए।
भेलामा जनप्रगतिशील मञ्च दक्षिण कोरियाका उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका उपाध्यक्ष बिबि स्याङ्तान र तामाङ राष्ट्रिय मुक्तिमोर्चा दक्षिण कोरियाका अध्यक्ष सुनिल तामाङले पहिचान र अधिकार प्राप्तिका लागि विश्वभरका किराँती युवाहरू एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए।
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत उदयपुरका युवा सुरज किराँतीले किराँत इतिहास, पहिचान र अधिकारको रक्षा गर्दै सबै जातजाति, भाषाभाषी, वर्ग, समुदाय र तहतप्काका लागि किराँती राष्ट्रिय मोर्चा लड्न तयार रहेको बताए। पूर्व लडाकुसमेत रहेका किराँतीले वर्गीय मुक्तिको सवालसँगै समग्र नेपाली समाजको मुक्तिका लागि दक्षिण कोरियामा कार्यरत किराँती युवाहरू मोर्चामा आबद्ध भएको बताए।
‘हामी हाम्रो समुदायका लागि मात्र होइन, समग्र नेपालीको पहिचान, अधिकार र देशलाई समृद्ध र विकासका लागि सङ्घर्ष गर्न मोर्चामा आबद्ध भएका हौँ,’ किराँतीले भने, ‘१० वर्षे जनयुद्ध लडेका हामी विदेशमा दास बन्न बाध्य छौँ, यस्तो समस्या अन्त्य गर्दै नेपालमै गरिखाने वातावरण बनाउन समग्र नेपाली समाज समृद्ध हुनुपर्छ, त्यसका लागि मोर्चा लागी पर्नेछ।’
प्रकाशित: २३ वैशाख २०८२ १३:३२ मंगलबार




-600x400.jpg)
