३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रिसाको पोष्टमार्टम रिपोर्ट आयो, मृत्युको कारण आएन

स्थलगत रिपोर्टिङ

गोलो घेराभित्र प्रिसा।

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन। तथ्यजाँचका लागि गरिएको पोष्टमार्टम रिपोर्टबाट कुनै कारण खुल्न नसकेको हो।

भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माले पोष्टमार्टम रिपोर्टबाट कुनै कारण नखुलेको बताएका छन्। ‘पोष्टमार्टम रिपोर्टबाट केही कारण खुल्न सकेको छैन, प्रारम्भिक रिपोर्टबारे जानकारी लिँदा कुनै कारण खुल्न नसकेको हो, अनुसन्धान अझै जारी रहेको छ, ल्यापटप र मोबाइल फोरेन्सिक ल्याबमा पठाइएको छ, त्यसको प्रतिवेदन आउन बाँकी रहेको छ,’ एसएसपी शर्माले भने। शर्माका अनुसार प्रिसा साहका परिवारका सबै सदस्यहरू सोमबार र मंगलबार नेपाल फर्किसकेका छन्।  

कलेजकै एक विद्यार्थीका अनुसार केही विद्यार्थीहरूलाई ‘काउन्सिलिङ’ गरिरहेको छ। हाम्रो सम्पर्कमा आएका ती विद्यार्थीका अनुसार अहिले नेपाली विद्यार्थीहरूलाई कलेजको इन्टरनेशनल रिलेशन अफिसर (आइआरओ)ले काउन्सिलिङ गरिरहेको छ। प्रिसासँगै होस्टलमा बस्ने दुई विद्यार्थी भने घर गएका थिए। उडिसास्थित भुवनेश्वर प्रहरीले अन्य १० जना विद्यार्थीसँग सोधपुछ गरिरहेको भए पनि परिणाम दिन सकेको छैन।  

‘स्किम बी’ पढ्ने प्रिसासँग  सिनियर दुईजना ‘रुममेट’ थिए। उनीहरू घर गएका बेला प्रिसाको मृत्यु भएको खबर कलेजमा फैलिएको थियो। ‘बिहीबार दिउँसो कलेज पनि आएकी थिएन, साँझ सुसाइडको खबर आयो,’ कलेजका ती विद्यार्थीले भने।  

अहिले कलेजमा विभिन्न सेमेष्टरमा परीक्षा चलेको छ। बिहीबार उनले कलेजमा इडी विषयको ‘भाइबा’ दिनुपर्ने थियो। तर उनी सहभागी भइनन्। भाइबामा नआएपछि उनको खोजी भएको थियो। उनी बिटेक प्रथम वर्षमा अध्ययन गर्थिन् । ‘दिउँसो कलेजमा आए पनि भाइबामा सहभागी भएकी थिइनन्.’ ती विद्यार्थीले भने।  

त्यस्तै, भारतको राष्ट्रिय मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनाको गम्भीर जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनेको छ । आयोगले ओडिसाका मुख्यसचिव र प्रहरी महानिर्देशक (डिजिपी)का नाममा सूचना जारी गर्दै साहको मृत्यु प्रकरणमा गम्भीर जाँचबुझ गर्न भनेको हो। आयोगले ९ मे अर्थात् २७ वैशाखभित्र जाँचबुझ अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको छ। किट कलेजमै अध्ययन गर्ने दुई भारतीय विद्यार्थीले आत्महत्या गरेका थिए।  

किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु प्रकरणमा छानबिनका लागि भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले छानबिन समिति बनाएको छ। किट विश्वविद्यालयको होस्टेलमा एकपछि अर्काे आत्महत्याका घटना हुन थालेपछि इन्दिरा गान्धी खुला विश्वविद्यालयका उपकुलपति नागेश्वर रावको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेर १० दिनको समयावधि दिइएको हो। समितिमा राष्ट्रिय शैक्षिक योजना तथा प्रशासन संस्थानका उपकुलपति शशिकला वंजरी र बिहारको गया केन्द्रीय विश्वविद्यालयका पूर्वउपकुलपति एचसिएस राठौर सदस्य छन्। आयोगकी सहसचिव सुनिता सिवाचलाई समितिको समन्वय अधिकारी तोकिएको छ।  

उनको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सरकारलाई रुलिङ गरेका छन्। सरकारले पनि कूटनीतिक पहल गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसदले प्रिसाको मृत्युबारे विषय उठाएपछि सभामुख घिमिरेले भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन्।  

किट विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्युको तीन महिनापछि १८ वैशाखमा प्रिसा पनि होस्टेलमा मृत भेटिएपछि संसदमा आवाज उठेको हो। किटमा भारतीयपछि नेपाली विद्यार्थीहरू अध्ययन गर्छन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार केआइआइटीमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्।

कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)को नामबाट उडिसामा सञ्चालित भुवनेश्वर, भारतको एक प्रमुख निजी विश्वविद्यालय हो। जुन सन १९९२ मा औद्योगिक तालिम संस्थाको रूपमा स्थापना भएको थियो। सन् १९९७ देखि स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले सन २००७ पछि चिकित्सा विज्ञान, दन्त चिकित्सा, नर्सिङ, सञ्चार र अन्य क्षेत्रहरूमा पाठ्यक्रमहरू थप गरेर पठनपाठन सुरु गरेको थियो। यो विश्वविद्यालय भुवनेश्वरको पटिया क्षेत्रमा ८,९०० एकड क्षेत्रफलमा फैलिएको छ।

नेपाली विद्यार्थीको संख्या १३ सयभन्दा बढी छ। नेपाली विद्यार्थीहरूको आकर्षण रहेको सो कलेजमा सर्लाहीको कविलासी नगरपालिका–८ स्थायी घर भइ पर्साको वीरगन्ज महानगरपालिका–१५ भिस्वा बस्दै आएकी प्रिसाको छ ।  

प्रकाशित: २३ वैशाख २०८२ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App