अछाम जिल्लाको विकट क्षेत्र रामारोसनको बाटुलासैन गाउँ । त्यही गाउँमा प्रावि तहको शिक्षक थिए देवानन्द न्यौपाने। उनकी श्रीमती पारु गृहिणी हुन् । चार छोरा र तीन छोरी हुर्काउन न्यौपाने दम्पत्तीलाई सकस नै थियो ।
अहिले छोराछोरीको प्रगतिले न्यौपाने दम्पतीका दिन फेरिएका छन्। तीनजना छोरा नेपाल प्रहरीको अफिसर छन्। अर्को एक छोरा इन्जिनियर र एक छोरी डाक्टर छन् ।
तीनै जना दाजुभाइ प्रहरी संगठन मातहतका तीन वटा कमाण्ड कुशलतापूर्वक सम्हालिरहेका छन् । उनीहरु प्रहरी संगठन भित्र अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
न्यौपाने दम्पतीका जेठो छोरा सिद्धराज न्यौपाने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पिएसओ छन् । उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) हुन । उनी लामो समयदेखि दाहालको सुरक्षा कमाण्डमा कार्यरत छन् ।
२०६३ सालमा प्रहरी निरीक्षकबाट सङ्गठनमा भर्ना भएका उनी २०७४ मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए। उनी सङ्गठनमा एक कुशल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनले अहिलेसम्म धेरैजसो ठाउँमा इन्चार्जको भूमिका निर्वाह गरेका छन् । उनी चाँडै प्रहरी उपरीक्षकमा बढुवाको लाइनमा रहेको बताइन्छ ।
माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन् । उनी पनि प्रहरी नायब उपरीक्षक हुन । २०७० मा प्रहरी निरीक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए ।
काठमाण्डौं, हेटौडा लगायतका जिल्लाका विभिन्न प्रहरी युनिटको कमाण्ड सम्हालेका उनी अहिले सल्यानमा प्रशंसायोग्य काम गरिरहेका छन् । उनी जनतासँगको मितव्ययी सम्बन्धका कारण चर्चामा रहन्छन् ।
कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरीक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन् ।
न्यौपाने दम्पतीका जेठो छोराले कैलालीको टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन । अन्य दुई छोराहरूले भने अछामको रामारोसनस्थित सरस्वती मावि झाँताबाट एसएलसी गरेका थिए । उनीहरु सबैको एसएलसी पछिको उच्च शिक्षा भने काठमाण्डौंमा भयो ।
अछामको विकट मानिने रामारोसन क्षेत्रमा शिक्षण पेसामा कार्यरत देवानन्दको कुनै राजनीतिक सम्बन्ध थिएन । उनले भनसुन गर्ने मान्छे पनि चिनेका थिएनन् । उनी छोराहरूको आफ्नै मेहनतले उचाइ हासिल गरेको बताउँछन् ।
‘मेरो त त्यस्तो कोही थिएन । छोराहरूले मेहनत गरे सफल भए’ उनले भने–‘अहिले सम्झिदा गर्व महशुस भइरहेको छ।’
न्यौपाने दम्पतीका अन्य सन्तान समेत कम छैनन् । साईलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता चिकित्सक छन् । छोरा जागिर गर्छन् । छोरी दार्चुला अस्पतालमा कार्यरत छन् ।
न्यौपानेको परिवार अछामबाट कैलाली बसाइँ सरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन् । देवानन्दका बाबुआमा पहिल्यैदेखि सो ठाउँमा बसोबास गर्दै आएका थिए ।
प्रकाशित: २२ वैशाख २०८२ १४:४१ सोमबार





