इटहरी वडा नं. २० तरहरा लालीगुरास टोलमा आइतबार बिहान दुई पक्षीय समूहबिच कुटाकुटले उग्र रूप लिएपछि खुकुरी हानाहान भएको छ ।
बिहान ९.४५ बजे इटहरी वडा नं. २० का आकाश गिरीलाई लालीगुरास टोलको चौबाटोमा बोलाएर वडा नं. २ शान्ति झोडाका युवा समूहले कुटपिट गरेर गिरी पक्षका बाबु भनिने विरेन बुढाथोकी सहित घटनास्थल पुगेपछि खुकुरी प्रहार सुरु भएको हो । खुकुरी प्रहारबाट बुढाथोकीको घाटीमा चोट लागेको छ । उनी अहिले प्रहरीकै निगरानीमा उपचार गराई रहेका छन् ।
खुकुरी प्रहार गर्ने समूह इटहरी वडा नं. २ का २५ वर्षे पारस भन्ने किरण राई पनि घाइते भएका छन् । उनलाई प्रहरीकै निगरानीमा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको छ । यस्तै, खुकुरी प्रहार गर्ने समूहका १९ वर्षे सुशान्त घिमिरे र २३ वर्षे अरुण राई पक्राउ परेका छन् । खुकुरी प्रहार गर्ने समूहका अर्का दुई–तीन जना युवा र अर्को समूहका आकाश गिरी फरार भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान सात बजेदेखि लालीगुरास टोलको चौबाटोमा एउटा युवाको समूह भेला भएर गिरीलाई डाकेर सो स्थानमा आएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय मञ्जु वर्देवाका अनुसार सात जना युवाले एक जनालाई निरन्तर कुटपिट गरेका थिए । ‘एक जनालाई धेरै जनाले निरन्तर कुटपिट गरिरहेपछि म आफै छुट्याउन गए, तर सम्भव भएन,’ उनले भनिन्, ‘अरु गाउँले रमिते बने, नत्र बेलैमा घटना नियन्त्रण हुने थियो ।’
लालीगुरास टोलमा आएको वडा नं. २ शान्तिझोडाको समूहले खुकुरीसँगै अरु फलामका सामग्री पनि बोकेर आएको देखेको स्थानीय अञ्जना अधिकारीले बताइन् । ‘केही फलामका सामग्री त हाम्रै घरमा खोसेर राखी दियौँ,’ उनले भनिन्, ‘गाउँमै त्राहीमाम हुने गरी खुकुरी प्रहार भयो ।’ खुकुरी प्रहार हुँदा आसपासका लालीगुरास टोलका स्थानीय ठूलो संख्यामा भेला थिए । स्थानीय गाउँलेका अनुसार खुकुरी प्रहार गर्ने समूहले फिल्मी शैलीमा खुकुरी नचाएका थिए । त्यही भएर त्रासकै कारण कसैले पनि घटनास्थलमा गएर घटना साम्य पार्न सक्ने स्थिती भएन् ।
खुकुरी प्रहार भइरहँदा हाँसपोसा प्रहरी चौकीका प्रमुख टिका नेपाल नेतृत्व टोली आएर खुकुरी प्रहार गर्ने समूहका तीन जना र अर्को समूहका एक जनालाई नियन्त्रणमा लिएको थियो । त्यस लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट घटनास्थलमा प्रहरीको अर्को टोली पुगेको थियो । त्यस टोली समक्ष स्थानीयले शान्ति सुरक्षा कायम गरी दिन माग गरेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार खुकुरी प्रहार गर्ने समूहका तीन जना पक्राउ परिसकेको र अरूको खोजी भइरहेको बताए । ‘घटनाबारे बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले घटनाबारे बुझ्ने र भागेकालाई खोज्ने काम नै भइरहेकाले गर्दा विस्तृत बुझ्न पाएको छैन ।’
प्रकाशित: २१ वैशाख २०८२ १५:२३ आइतबार