१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। 

इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)ले नेपालमा पहिलो पटक आयोजना गरेको ‘इन साइट अफ लाइभ २०३०’ सम्मेलनमा विश्वभरका अन्धोपन निवारण र आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधिहरू सहभागी छन्। 

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था आइएपिबीका सदस्य छन्।

नेपालमा आइएपिबीका सदस्य संस्थाहरूमा नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आइ फाउण्डेशन छन्। विश्वभरका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको छाता सङ्गठनका रूपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रूपमा आँखा स्वास्थ्य क्षेत्रमा वकालत गर्दै आएको छ।

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी सहकार्य प्रवर्द्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने उद्देश्यले आइएपिबीले हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्छ। सन् २०२४ को सम्मेलन मेक्सिकोमा भएको थियो। 

आइएपिबीका दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार यो सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाको सहभागिता छ। नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रका अनुसार सम्मेलनमा सन् २०३० सम्म आँखा स्वास्थ्य क्षेत्रका लागि आवश्यक रणनीति र योजनाबारे छलफल हुनेछ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै पर्यटन विकासमा पनि योगदान पुर्‍याउने बताए। उनले भने, ‘“इन साइट अफ लाइभ २०३०” नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्‍याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्वपूर्ण हुनेछ।’

सङ्घअन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्चालनमा छन्। स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिकसहित अन्य देशका गरी चार करोड ३६ लाख २६ जनालाई आँखा उपचार गरेको छ। एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरेको छ। रासस

प्रकाशित: १७ वैशाख २०८२ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App