७ माघ २०८२ बुधबार
image/svg+xml
समाज

पुनर्निर्माण दशक: बौरिएको बारपाक

२०७२ वैशाख १२ गते शनिबार परेकाले सार्वजनिक बिदा थियो। अरू दिनका तुलनामा सहरमा चहलपहल पनि कमै थियो। बिहानैदेखि मौसम धुमिलिएको थियो। गर्मी मौसम भए पनि निलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट देख्न सकिएको थिएन। सार्वजनिक बिदाको दिन परेकाले नागरिकहरू अरू दिनका तुलनामा फुर्सदमै थिए।

मध्याह्न ११ बजेर ५६ मिनेट गयो, एकाएक जमिन हल्लियो, धाँजा फाटे, घर ढले। घरमात्रै ढलेनन्, हजारौं मान्छे पनि ढले। गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.६ रेक्टर स्केलको उक्त भूकम्पले देशभरमा आठ हजार नौ सय ७९ जनाको ज्यान गयो भने २२ हजार तीन सय नौ जना घाइते भए। भूकम्पको प्रभाव विभिन्न १४ जिल्लामा पर्दा झन्डै दश लाख घर ध्वस्त भए।

भूकम्पअघि एकनासे ढुंगाले छाएका र बढीमा दुईतले घर थिए बारपाकमा। तर, अहिले चार–पाँच तलेसम्म घर बनेका छन्। घर बनाउन रड, सिमेन्ट, इँटा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिएका छन्। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिलेजस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउनेमा बारपाकवासी ढुक्क छन्।

भूकम्पमा परेर ज्यान गुमाउने त गए नै, बाँचेका हजारौं नागरिक घरबारविहीन भए। गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो। उक्त भूकम्पमा परेर गोरखामा मात्र चार सय ७१ जनाको ज्यान गएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले करिब १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको विवरण सार्वजनिक गरेको थियो।

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको पनि प्राधिकरणले विवरण सार्वजनिक गरेको थियो। तीन हजार दुई सय १२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक थियो।

२०८२ वैशाख १२ मा गोरखा भूकम्पको १० वर्ष पुगेकाे छ। यो अवधिमा भूकम्पले क्षतविक्षत धेरै संरचना ठडिए। त्यो बेला ढलेका संरचनाले वर्षाैं लगाएर आकार लिए। कतिपय बस्तीको त स्वरूप नै फेरियो। भूकम्पमा परी ज्यान गुमाउनेका आफन्तले परिवारका सदस्य गुमाएको त्यो दिन भुल्न त कहिल्यै सक्दैनन्। तर गाउँ, बस्ती र टोलले भने फरक रूप धारण गरिसकेको छ। त्यसको उदाहरण हो–भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको ‘बारपाक’ गाउँ।

बारपाक सुलिकोट गाउँपालिका–१ र २ नम्बर वडामा पर्छ बारपाक गाउँ। यही गाउँमा थिए करिब १४ सय घरधुरी। तीमध्ये भूकम्पमा परेर निकै नै थोरै सङ्ख्यामा रहेका पक्कीबाहेक सबैजसो घर भत्केका थिए। जसोतसो जोगिएका पक्की पनि चर्किएका थिए। भूकम्पको दशक बित्दै गर्दा बारपाकले स्वरूप बदलिसकेको छ।

अहिले त बारपाकमा छपक्कै पक्की घर बनिसकेका छन्। भूकम्पअघिको बाक्लो बस्तीको बारपाकमा एकअर्का घर जान, चिन्न मुस्किल थियो। घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन। तर, अहिले बस्तीको बिचभाग भएर सडक खुलेको छ। पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टका पक्की बनेका छन्।

भूकम्पअघि एकनासे ढुंगाले छाएका र बढीमा दुईतले घर थिए बारपाकमा। तर, अहिले चार–पाँच तलेसम्म घर बनेका छन्। घर बनाउन रड, सिमेन्ट, इँटा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिएका छन्। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिलेजस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउनेमा बारपाकवासी ढुक्क छन्।

बारपाकका स्थानीय जितबहादुर घले भन्छन्, ‘भूकम्प गएको पनि १० वर्ष हुन थालेको छ। तर, अहिले बारपाक भूकम्पअघिको भन्दा निकै नै फरक बनिसकेको छ। बस्तीको स्वरूप मात्र फेरिएन कि यहाँका बासिन्दाको मानसिकता पनि फेरिएको छ।’

स्थानीय पर्यटन व्यवसायीसमेत रहेका उनका अनुसार भूकम्पको ठुलो क्षति भोगेको बारपाकले अहिले बाहिरी स्वरूप त फेरेको छ नै, स्थानीयको मानसिकतामा पनि परिवर्तन ल्याएको छ।

त्यसबाहेक भूकम्पपछि पर्यटन क्षेत्रका हिसाबले बारपाकले राम्रो फाइला लिन पाएको छ। ‘अहिले होमस्टे पनि राम्रोसँग फस्टाएका छन्। ठुला होटल पनि बनेका छन्। हिजोसम्म एउटै मौलिकताका घर थिए। अहिले सहरी स्वरूपमा परिवर्तन हुँदै गर्दा बस्तीको स्वरूप फेरिएको छ,’ उनले भने, ‘पहिले ढुंगाले छाएका एकनासका घर थिए, अहिले ती घरहरू देख्न मुस्किल हुन्छ। अहिले नयाँ घर र बस्ती बनेको छ।’

‘पहिलेभन्दा निकै नै फरक अवस्था अहिलेको बारपाकमा देख्न सकिन्छ। पहिले सबैजसो कच्ची र एकै स्वरूपका घर थिए, अहिले पक्की भवन बनिसकेका छन्,’ उनी भन्छन्, ‘विपत्मा परेर मर्ने जति मरिहाले, बाँच्नेले बारपाकलाई पुनर्निर्माण गराए। बारपाकलाई नयाँ बनाएका छन्।’ उनका अनुसार भूकम्पअघि बारपाकमा १४ सय जति घर थिए। तर अहिले घरको संख्या बढेर १५ सय पुगेका छन्।

‘अरूतिर गाउँमा घरसंख्या घट्दै गएको छ। तर, बारपाकमा अहिले घर थपिएका छन्। भूकम्पपछि ठडिएका करिब ७५ प्रतिशत घर पक्की छन्,’ उनले भने, ‘भूकम्पले बारपाकमा नयाँ घर त ठडिए नै, बारपाकलाई सुविधाजनक पनि बनाएको छ।’

अहिले सदरमुकाम गोरखाबाट बारपाक पुगिने बाटो कालोपत्रको अन्तिम चरणमा छ। त्यसबाहेक भूकम्पपछि पर्यटन क्षेत्रका हिसाबले बारपाकले राम्रो फाइला लिन पाएको छ। ‘अहिले होमस्टे पनि राम्रोसँग फस्टाएका छन्। ठुला होटल पनि बनेका छन्। हिजोसम्म एउटै मौलिकताका घर थिए। अहिले सहरी स्वरूपमा परिवर्तन हुँदै गर्दा बस्तीको स्वरूप फेरिएको छ,’ उनले भने, ‘पहिले ढुंगाले छाएका एकनासका घर थिए, अहिले ती घरहरू देख्न मुस्किल हुन्छ। अहिले नयाँ घर र बस्ती बनेको छ।’

उनका अनुसार भूकम्पले ल्याएको अर्काे एउटा गजबको परिवर्तन बारपाकमा देख्न सकिन्छ। त्यो के हो भने बारपाकका मान्छे पनि बसाइँ सरेका छन्। युरोपियनसहित छिमेकी भारतमा पनि थुपै्र युवा गएका छन्। तर, विदेशी हानिएका ती युवाका आफन्तले गाउँ भने छाडेका छैनन्। आन्तरिक बसाइँ सर्नेहरूले पनि बारपाकलाई भुलेका छैनन्।

‘विदेश जाने पर्याप्त छन्। त्यसबाहेक यहाँबाट बसाइँ सरेर काठमाडौं, चितवन, सदरमुकाम गोरखा बजार र पोखरामा गए पनि ती गाउँलेले पुख्र्याैली बारपाकलाई भुलेका छैनन्,’ उनले भने, ‘अरूतिर विदेश गएपछि गाउँ शून्य हुन्छ, तर यहाँ त गाउँ शून्य बनेको छैन, बरु चम्केको छ।’

उनका अनुसार आन्तरिक बसाइँ सरेर गए पनि उनीहरूले बसाइँ सरेर गएका ती गाउँलाई सिजनल बसाइँ बनाएका छन्। ‘बसाइँ सरेर गए पनि सिजनअनुसार गाउँ फर्किने गरेका छन्। बसाइँ सरेर काठमाडौं, चितवन, गोरखा बजार र केही पोखरा गएका छन्। तर, उनीहरूको बसाइँको आधा समय बारपाकमा पनि हुन्छ,’ उनले भने, ‘गर्मी छल्न बारपाक उक्लिने गरेका छन्। जाडो छल्न तल झर्ने उनीहरूको तालिका छ।’

अन्यत्र गाउँका बासिन्दा बसाइँ सरेर गएपछि गाउँका घर खण्डहर बन्ने गरेको उनले देखेका छन्। गाउँका घरको आँगनमा घाँस पलाउने, घर भत्कने, छाना चुहिने गरेको देखेका उनले बारपाकमा भने त्यो अवस्था नरहेको उनी बताउँछन्।

‘बसाइँ सरेर गए पनि सधैंका लागि ढोका लागेको छैन। वर्षमा आधा समय त गाउँमा बसेकै छन्। त्यसैले बारपाक गाउँ सधैंको गुल्जार बन्ने गरेको छ। पर्यटकको आउजाउले पनि बारपाकलाई उकासेको छ,’ उनले भने, ‘बसाइँ सरेका कारण घर खाली भए, खण्डहर बने भनेर चिन्तै छैन। अरू गाउँतिरको बसाइँसराइको अवस्था बारपाकमा भने लागु भएको छैन।’

बारपाक सुलिकोट गाउँपालिका–१ अध्यक्ष धनबहादुर घले भूकम्पले लिएको मानवीय र भौतिक क्षतिलाई सम्झन मन नलागे पनि बिर्सन पनि सक्ने अवस्था नरहेको बताउँछन्। ‘भूकम्पले दशकअघि क्षति गर्‍यो तर त्यो क्षति सम्झन नपरोस् भन्दाभन्दै बिर्सन पनि नसकिने रहेछ,’ उनले भने।

उनका अनुसार भूकम्पमा जोगिएका बासिन्दाले भने बारपाकमा नयाँ परिवर्तन देख्न पाएका छन्। ‘बारपाक अब पुरानो छैन, पूरै नयाँ बन्यो। पुरानो बारपाक हेर्छु भनेर पनि पाइँदैन। स्वरूप नै भिन्दै भइसक्यो,’ उनले भने, ‘न त हिजोका जस्ता घर छन्, न त मान्छे नै हिजोका जस्ता छन्। चहलपहल पनि पहिलाभन्दा फरक छ। बस्ती पनि पूरै नौलो देखिन्छ।’
 

अध्यक्ष घलेका अनुसार बारपाक पुग्ने मोटरबाटो पनि नयाँ बनेको छ। त्यो मात्र नभई बस्तीमा हिँड्ने पुरानो पैदल मार्ग पनि नयाँ बनेको छ। बस्तीको स्वरूप पूरै नयाँ बनेको छ। घरको डिजाइन नितान्त नयाँ देखिन्छ। ‘हिजोसम्म एकनासका घर थिए, जसले बारपाकलाई भिन्दै स्वरूप दिएको थियो। तर, अहिले त बारपाकमा पक्की र अग्ला घर ठडिएका छन्। बस्तीको स्वरूप मात्र होइन, मान्छेको दैनिकी पनि फेरिएको छ,’ उनले भने।

उनका अनुसार गाउँका बासिन्दाको दैनिकी नै अहिले बदलिएको छ। भूकम्पअघिसम्म अधिकांश गाउँले कृषि पेसामा व्यस्त थिए। अहिले पनि कृषि त गर्छन् तर हिजोका जस्तो मकै, कोदो, गहुँ खेतीको साटो फलफूल, तरकारी, पशुपालनमा मान्छे रमाउन थालेका छन्। ‘अन्नबालीबाट भन्दा तरकारी, किवी, टिमुर, गोलभेँडा, काउली, बन्दालगायत फलफूल र तरकारी खेतीबाट राम्रो आम्दानी देखेपछि स्थानीयले गर्ने कृषि पेसाको शैली फेरिएको छ,’ उनले भने।

बारपाकले पछिल्लो समय सबैभन्दा बढी लाभ पर्यटनबाट लिएको उनी बताउँछन्। उनका अनुसार वर्षमा आन्तरिक र विदेशीगरी ४० हजार हाराहारी पाहुना बारपाक उक्लिन्छन्। ती पर्यटकका कारण गाउँलेले आम्दानी पनि गर्न पाएका छन्। ‘भूकम्पको केन्द्रविन्दु भन्दै पर्यटकको आकर्षक गन्तव्य बनेको छ। होटल, होमस्टे पाहुनाविहीन हुनुपरेको छैन,’ उनले भने। शुक्रबार र शनिबार त बारपाक उक्लिने पाहुना पर्याप्त हुने गरेको उनले बताए।

अध्यक्ष घलेका अनुसार बारपाकका घरको स्वरूपमा निकै नै बदलाव आएको छ। भूकम्प अघिसम्म बारपाकका अधिकांश घरका छाना ढुंगाले छाएका थिए। तर, अहिले पक्की घर उभिएका छन्। पक्की घर बनाउनै नसक्ने अवस्थाका केही गाउँलेले ढुंगे छानाको घर बनाए पनि अधिकांश घर नयाँ र पक्की संरचना बनेको उनले बताए। ‘भूकम्पले क्षति त गरेको हो तर बारपाकमा पुनर्संरचना पनि भएकै छ,’ उनले भने।  

प्रकाशित: १२ वैशाख २०८२ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App