३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

दुईवटा मासु पसलमा तालाबन्दी

इटहरीका मासु पसल सरसफाइमा लापरबाही

अस्वस्थकर माछा–मासु खानाले मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका रोग लागेर औषधोपचारमा ठूलो धनराशि खर्चनुपरेको घटना थुप्रै छन्। यस्तो अवस्थामा सुनसरीको इटहरी बजार क्षेत्रमा मासु बिक्रेताले सरसफाइमा लापरबाही गरेर मासु बिक्री गर्ने गरेको पाइएको छ।

इटहरी उपमहानगरपालिका खाद्य गुणस्तर तथा बजार अनुगमन टोलीले बुधबार बजार क्षेत्रका १५ वटा मासु पसल अनुगमन गर्दा प्रायः सबैमा सरसफाइमा लापरबाही गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत अनु अर्यालले बताइन्। उनका अनुसार दुइवटा मासु पसलमा भने मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडेगलेको मासु बिक्री गरेको पाइएको छ। जुन प्रकाश फ्रेस हाउस र नमस्ते राँगा पसल रहेका छन्। दुवै मासु पसलमा उपमहानगरपालिकाले तालाबन्दी गरेको छ।

प्रकाश फ्रेस हाउसमा पहिलोपल्ट समस्या देखिएको हो भने नमस्ते राँगा पसलमा दोस्रोपटक सडेगलेको मासु भेटिएको हो। दुवैलाई कानुनबमोजिम कारबाही गर्ने खाद्य अनुसन्धान अधिकृत अर्यालले बताइन्।

इटहरी बजारसहित भित्री क्षेत्रमा बग्रेल्ती मासु पसल छन्। मासु बिक्रेताले सरसफाइमा ध्यान नदिँदा सरुवा रोगले मासु उपभोग गर्नेलाई सताउने गर्छ। ‘एक मासुका कारण सरुवा रोगले मासु उपभोक्तालाई सताउने गर्छ। अर्कातिर गर्मी मौसम भएकाले झन् किटाणुले थप समस्या हुने गर्छ’, अर्यालले नागरिकसँग भनिन्।

इटहरीमा यसअघि अनुगमन टोलीले कतिपयमा मासुमा मिसावट गर्ने गरेको समेत फेला परेको थियो। हरेक अनुगमन गर्दा केही मासु पसलमा तालाबन्दी गर्ने गरेको छ। त्यसो त सुनसरीको झुम्कामा सडकछेउछाउ र नगरपालिकाले तोकेको स्थानमा मासु बिक्री व्यवस्थित नहुँदा उपभोक्ताहरू अस्वस्थकर मासु खान बाध्य भएका छन्। नगरपालिकाले मासु बिक्री केन्द्रबाट मासिक शुल्क लिने गरे पनि जथाभावी रूपमा मासु, माछा बिक्री गरिरहेकाले उपभोक्ता अस्वस्थकर मासु बाध्य भएका हुन्।

खुला ठाउँमा अस्वस्थकर मासुमा झिँगा भन्किरहेको र धुलोमा राखी गुणस्तरहीन अवस्थमा मासु बिक्री गर्न परेको र यसको व्यवस्थापनमा नगरपालिकाकै कमजोरी रहेको स्वयं मासु बिक्रेताहरू बताउँछन्। झुम्का बजारमा मासुमा मिसावट नहुने विश्वास उपभोक्तालाई छ। त्यही भएर झुम्कासँगै आसपासका उपभोक्ताको मासु किन्न बिहानदेखि साँझसम्म जमघट लाग्ने गरेको छ, तर मासु बिक्री गर्ने स्थान भने फोहोर हुँदा त्यसलाई व्यवस्थित गर्न नियमनकारी निकायको ध्यान जानुपर्ने स्थानीय उपभोक्ता प्रवीण बस्नेत बताउँछन्।

एक करोड रूपैयाँको लागतमा झुम्का बजारमा मासु बिक्री केन्द्र व्यवस्थित गर्न बधशाला पनि निर्माण भएको छ, तर एकपटक सञ्चालन भएर बधशाला बन्द भएको छ। यसलाई सञ्चालन गर्न नगरपालिकाले पहल गरिरहेको छ। ‘बधशाला चलेनन्। मासु बिक्रेता जानै इच्छा देखाएनन्’, रामधुनी नगरपालिकाका सूचना अधिकृत सुमन पौडेलले नागरिकसँग भने, ‘बधशाला सञ्चालन अनिवार्य गर्ने पहल भइरहेको छ।’ उनका अनुसार बधशालालाई अब मर्मत–सम्भार गरी अनिवार्य गरिने तयारी भएको हो।

झुम्का बजारमा दैनिक एक हजार केजी माछा, तीन सय केजी सुँगुरको मासु र सरदर पाँच सय केजी खसीको मासु बिक्री हुने गरेको छ। साथै झुम्का बजारमा राँगाको मासु पनि पाँच सय केजीभन्दा बढी बिक्री हुने गरेको छ।

प्रकाशित: ११ वैशाख २०८२ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App