विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ (Aurora Ventures) नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।
यो घोषणा चिलीको सान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’ (Aurora Tech Award 2026) को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेका थिए, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ मा भने उक्त अवार्डमा केवल ११६ आवेदन परेका थिए ।
सन् २०२६ को अरोरा टेक अवार्डअन्तर्गत उत्कृष्ट १० महिला संस्थापकहरूमा नाइजेरियाकी अडेओलायो ओला–फामासी, पनामाकी एड्रियाना गोन्जालेज–टिजो, कोलम्बियाकी एन्जेला अकोस्टा–मोरेडो, क्याटालिना इसाजा–इनमेटेक, एस्टेफानिया अबेलो–मुटा, चिलीकी मारिया काभास–डोमेस्टिक्स, ब्राजिलकी मारियाना जुलियानी–ओन्कोएआई, कोलम्बियाकी मर्सिडिज विडार्ट–क्विपु, मेक्सिकोकी प्याट्रिसिया फ्लोरेन्सिया–पिलाउ तथा केन्याकी पेनी मुसेन्गी–पेसिरा टेक्नोलोजिज रहेका छन् ।
कम्पनीका अनुसार ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको लगानी कार्यक्रम हो । ‘अरोरा टेक अवार्ड’मार्फत पछिल्ला पाँच वर्षमा संकलन गरिएका तथ्यांक तथा अनुसन्धानका आधारमा कार्यक्रम तयार गरिएको जनाएको छ ।
सन् २०२१ यता आवेदन संख्या करिब ३० गुणाले बढेपछि अरोराले मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA), अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एसियाली बजारहरूमा महिला नेतृत्व भएका धेरै व्यवसायहरूले अझै पनि परम्परागत भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालेको जनाएको छ ।.
अरोराले गरेको पछिल्लो अध्ययनमा १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी थिए । अध्ययनले महिला उद्यमीहरूले लगानी जुटाउने क्रममा अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ । एसिया–प्रशान्त क्षेत्र पनि यस्तो असमान मूल्यांकनबाट प्रभावित क्षेत्रमध्ये एक रहेको अध्ययनले उल्लेख गरेको छ ।
अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका व्यवसायहरूमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार अरोरा टेक अवार्डको नेटवर्कमार्फत उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिनेछ ।
अरोरा भेन्चर्सकी हेड इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा अझै पर्याप्त अवसर उपलब्ध नभएकाले यस्तो पहल आवश्यक भएको बताइन् ।
उनले भनिन्, “पछिल्ला पाँच वर्षमा हामीले एउटै अवस्था दोहोरिएको देख्यौं । धेरै महिला उद्यमीहरूले बलियो व्यवसाय निर्माण गरिरहेका छन्, तर उनीहरूले आफ्नो कामअनुसारको लगानी समयमा पाउन सकेका छैनन् ।”
उनले अरोरा टेक अवार्डअन्तर्गत छनोट भएका उत्कृष्ट १० महिला संस्थापकहरूको सफलताले कार्यक्रमले सहयोग गर्न खोजेका स्टार्टअपहरूको स्तर स्पष्ट रूपमा देखाएको पनि बताइन् ।
इन्ड्राइभका चीफ ग्रोथ बिजनेस अफिसर एन्ड्र' स्मिथले कम्पनीले सुरुवाती चरणमा भोगेका संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको बताए ।
उनले भने, “इन्ड्राइभले सीमित स्रोतसाधनका बीच ठूला प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरु गरेको थियो । अहिले उदीयमान बजारका महिला संस्थापकहरूले पनि यस्तै चुनौती सामना गरिरहेका छन् । अरोरा भेन्चर्सलाई सहयोग गर्नु परोपकार मात्र होइन, यो हामीले आफ्नै यात्राबाट सिकेको विश्वासको निरन्तरता हो ।”
अरोरा भेन्चर्सको अनुसन्धानअनुसार महिला संस्थापकहरूले भोगिरहेका चुनौती व्यवसायको गुणस्तर वा नवप्रवर्तनको कमीका कारण नभई लगानी प्रणालीभित्रको संरचनात्मक असमानतासँग जोडिएका छन् । अध्ययनले महिला उद्यमीहरूका लागि लगानी, मेन्टोरसिप तथा लगानीकर्ता नेटवर्कमा अझ समान पहुँच आवश्यक रहेको देखाएको छ ।
कम्पनीका अनुसार सन् २०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । साथै, भविष्यमा औपचारिक जीपी–एलपी फन्ड संरचना विकास गर्ने तयारी पनि अघि बढाइएको जनाएको छ । अरोरा भेन्चर्सले पूँजी, नेटवर्क पहुँच तथा व्यवसाय सञ्चालनसम्बन्धी सहयोगमार्फत महिला उद्यमीहरूलाई आगामी लगानी चरणसम्म पुग्न सहयोग गर्ने लक्ष्य राखेको छ ।
नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि पनि अरोरा भेन्चर्सजस्ता कार्यक्रमले महिला उद्यमशीलता तथा स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ ।
अरोरा टेक अवार्ड बारे
इन्ड्राइभद्वारा सञ्चालित अरोरा टेक अवार्डले उदीयमान बजारका महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्दै आएको छ । यस कार्यक्रममार्फत महिला संस्थापकहरूलाई लगानीकर्ता, उद्योग विज्ञ तथा अन्तर्राष्ट्रिय नेटवर्कसँग जोडिने अवसर प्रदान गरिन्छ । सन् २०२१ देखि सञ्चालनमा रहेको यस पहलले हालसम्म १२७ देशका महिला उद्यमीहरूलाई विश्वस्तरीय कम्पनी निर्माणतर्फ अघि बढ्न सहयोग गर्दै आएको जनाएको छ ।
अरोरा भेन्चर्स बारे
अरोरा भेन्चर्स उदीयमान बजारका महिला संस्थापकहरूलाई लक्षित प्रारम्भिक चरणको लगानी कार्यक्रम हो । विशेषगरी उच्च सम्भावना भएका तथा पूँजीको प्रभावकारी प्रयोग गरिरहेका व्यवसायहरूलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो । सन् २०२६ मा इन्ड्राइभको सहयोगमा सुरु गरिएको यस कार्यक्रमले मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA), अफ्रिका तथा ल्याटिन अमेरिकी बजारका प्रि–सिड र सिड चरणका स्टार्टअपहरूमा लगानी गर्ने जनाएको छ ।
प्रकाशित: ११ जेष्ठ २०८३ १७:५२ सोमबार





