११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

अमिनको तीन करोड बढी सम्पत्ति गैरकानुनी ठहर, भ्रष्टाचार मुद्दा दायर

उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करार सेवामा कार्यरत अमिन दिनेश प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड २९ लाख ४५ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, यादवले २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको अवधिमा वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो।

उक्त अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा रहेकोमा उनको खर्च ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा पुगेको आयोगको दाबी छ।

आयोगका अनुसार वैध आय र खर्चबीचको अन्तर ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा ऋणात्मक देखिएकोले उक्त रकम गैरकानुनी रुपमा आर्जन गरिएको ठहर गरिएको हो।

यादवले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढाइएको हालको सम्पत्तिसमेत जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम कारबाही माग गरिएको छ।

त्यस्तै, यादवले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त सम्पत्तिसमेत जफत गर्न प्रयोजनका लागि अमृता कुमारी यादवलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०८२ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App