९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट महिला गम्भीर

उदयपुरको कटारी नगरपालिकाकी पञ्चमाया तामाङ भालुको आक्रमणबाट घाइते भएकी छिन्। सोमबार बिहान कटारी २ गराँसस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा भालुले आक्रमण गर्दा ४६ वर्षीया तामाङ घाइते भएकी हुन्।

जङ्गलमा घाँस काट्न गएकी तामाङलाई एक्कासी भालुले आक्रमण गरेर घाइते बनाएको डिभिजन वन कार्यालय कटारीका वन अधिकृत हिरालाल शर्माले बताए। भालुले आक्रमण गरेपछि कहालिँदै प्रतिकार गर्दा भालु आफैँ भागेको घाइतेलाई उद्धृत गर्दै शर्माले बताए। तामाङको तिघ्रा, हात र खुट्टालगायत विभिन्न भागमा चोटपटक लागेको छ।  

प्रहरीका अनुसार घट्ना बिहान ८ः४० बजेतिर घटेको हो। दुई जना साथी सँगै घाँस काट्न जङ्गल पुगेकोमा एक्लाएक्लै भएको बेला भालुले आक्रमण गरेको हो। इलाका प्रहरी कार्याय कटारीका डिएसपी कमल बजगाईँका अनुसार जङ्गलमा घाँस काट्दै जाने क्रममा एक्लै रहेकी तामाङमाथि भालुले आक्रमण गर्दा दायाँ तिघ्रामा गहिरो चोट लागेको छ।

घाइते तामाङको प्रहरी चौकी गराँससमेतको सहयोगमा उद्धार गरी कटारी नगर अस्पताल ल्याएर उपचार भइरहेको छ। घाइतेको अवस्था सुधारोन्मुख रहेको र डिस्चार्जको तयारी भइरहेको छ।

भालुको आक्रमणपछि स्थानीय त्रसित भएका छन्। यसअघि पनि सो जङ्गलक्षेत्रमा भालु देखिने गरेको तर मानवमाथि आक्रमण चाहिँ पहिलो पटक भएको प्रहरीले जनाएको छ। जङ्गली जनावरबाट बँच्न र बचाउन स्थानीयलाई सतर्क गराउँदै राति, एकाबिहानै र एक्लाएक्लै जङ्गल नजान प्रहरीले जनप्रतिनिधिसँग मिलेर सचेत गराउने अभियान थाल्ने तयारी गरेको डिएसपी बजगाईँले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०८२ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App