प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संविधानको दायराभित्र रही न्यायपालिका सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन्।
आइतबार नेपाल बार एशोसिएसनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँगको भेटमा उनले न्यायिक सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताएका हुन्।
‘बारको जायज माग र गुनासा सम्बोधन गर्न म सदैव तत्पर छु,’ प्रधानन्यायाधीश राउतले भने, ‘आगामी दिनमा बार बेञ्च समन्वय समितिमार्फत आएका समस्या आपसी सहमतिमा समाधान हुन्छ, न्यायपालिका सुधारका लागि म तयार छु।’
भेटमा बारका नवनिर्वाचित अध्यक्ष प्राडा विजयप्रसाद मिश्रको नेतृत्वमा कार्यसमितिका पदाधिकारी उपस्थित थिए।
भेटपछि बारका महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा भएको संशोधन तत्काल खारेज गर्नुपर्ने, संशोधित नियमावली खारेजपछि मात्र न्यायाधीश नियुक्त गर्नुपर्ने माग राखिएको छ।
त्यस्तै बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अपहेलना मुद्दाको शीघ्र सुनुवाइ गर्नुपर्ने, वरिष्ठ अधिवक्ताले अनिवार्य रूपमा इजलासमा सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ। रासस
प्रकाशित: ८ वैशाख २०८२ ०९:०१ सोमबार





