गएराति सवारी दुर्घटनामा परी उदयपुरका एक युवकको निधन भएको छ। सुनसरीको धरान–इटहरी सडकखण्डमा राति भएको कार दुर्घटनामा परी जिललाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका २९ वर्षीय विष्णु राउतको निधन भएको हो।
प्रदेश ०१–०३० च ४६१८ नम्बरको कार राति ११ः३० बजे इटहरी उपमहानगरपालिका २० को पानीपिया जङ्गलमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी राउत गम्भीर घाइते भएका थिए। उद्धार गरी उपचारार्थ बिपी मेमोरियल स्वास्थ्य प्रतिष्ठान धरान लगिएकोमा उपचारका क्रममा आइतबार विहान राउतको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै धरान प्रहरीलले जनाएको छ।
धरानदेखि इटहरीतर्फ जाँदै गरेको कार दुर्घटनामा राउतसँगै रहेका अन्य ३ यात्रु पनि घाइते भएका छन्। घाइते हुनेमा चालक सुनसरी रामधुनी नगरपालिका ७ का बिबेक लामा, इटहरी उपमहानगर ४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी १ का ३१ वर्षीय कल्याण कटुवाल रहेका छ्न्। प्रहरी निगरानीमा चालकसहित उनीहरूको पनि प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको कारण आफैँ अनियन्त्रित भएर कार सडकको पूर्वतर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो। विस्तृत अनुसन्धान भने बाँकी रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखेको सुनसरी प्रहरीले जनाएको छ।
प्रकाशित: ७ वैशाख २०८२ १२:११ आइतबार





