२७ चैत्र २०८१ बुधबार
image/svg+xml १२:५६ अपराह्न
समाज

आगलागी हुँदा जुम्लामा घर जलेर ध्वस्त, ९४ लाख क्षति

जुम्लाको चन्दननाथ नगरपालिका–४, कालढुङी नजिकैको एउटा घर आगलागीले पूरै नष्ट भएको छ। 

४५ वर्षीया शिवलक्ष्मी न्यौपानेको तीन तले घर जलेर ध्वस्त भएको हो। ढुङ्गा र माटोले बनेको १२ कोठे कच्ची घरमा आगलागी हुँदा भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहना र सबै सामान जलेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ ६:४० बजे यो घटना भएको हो। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा घरपरिवारलाई जोगाइए पनि घर र सामान जोगाउन सकिएन। डीएसपी छेदिलाल कामतीले यस्तो बताए।

घटना थाहा पाउनासाथ प्रहरी सहायक निरीक्षक भोजबहादुर पाल, नेपाल आर्मीका सेनानी रामेश्वर कार्की, सशस्त्र प्रहरीका सहायक निरीक्षक कमल रावत र कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्मका प्रहरी सहायक निरीक्षक कालीबहादुर महतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार आगलागीले खाद्यान्न, नगद र सुन जलेर ९६ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ। न्यौपानेको परिवारको खाद्यान्न र लत्ताकपडा सबै नष्ट भएपछि उनीहरू समस्यामा परेका छन्। जिल्लाका सुरक्षा निकाय, चन्दननाथ नगरपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रण गर्न खोजे पनि सफल नभएको स्थानीयको गुनासो छ।

यस्तै, शुक्रबार नेपाल निजामती कर्मचारी संगठन जुम्लाले शिवलक्ष्मी न्यौपानेको परिवारलाई राहत दिएको छ। संगठनका केन्द्रीय सदस्य धर्मराज रावलका अनुसार जिल्ला अध्यक्ष पदम न्यौपानेले २१ हजार ८ सय रुपैयाँ राहत रकम दिएका छन्।  
 

प्रकाशित: २३ चैत्र २०८१ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App