गृह मन्त्रालयअन्तर्गत रहेको एकमात्र जुद्ध वारुणयन्त्र (दमकल) कार्यालय दुधपाटी भक्तपुरमा कार्यरत २३ जना अग्नि नियन्त्रकले धेरै ठाउँमा लागेको आगो सफलतापूर्वक निभाएका छन्। तर उनीहरूले आफ्नै १३ वर्षदेखि मनमुटुमा दन्केको आगो भने निभाउन सकेका छैनन्।
छिमेकी जिल्लामा रहेका अग्नि नियन्त्रक हुन् वा सँगै काम गर्ने सुरक्षाकर्मीले सरकारले तोकेको सुविधा पाउँछन् र उनीहरूको जागिर पनि स्थायी छ। तर रातदिन नभनी आगो निभाउन खट्ने जुद्ध वारुणयन्त्र कार्यालय दुधपाटी भक्तपुरमा २३ जना अग्नि नियन्त्रक १३ वर्षदेखि करारमा काम गर्न बाध्य छन्, त्यो पनि न्यून तलबमा। जोखिमपूर्ण काम गर्ने उनीहरूको न जागिर सुनिश्चित छ न सुविधा नै पर्याप्त। यही कारणले उनीहरू हरेकको मनमुटुमा आगो दन्केको छ।
जुद्ध वारुणयन्त्र दुधपाटीमा ३९ वर्षदेखि कार्यरत कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले बुधबार कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा यो दुःखेसो सबैका अगाडि पोखे। उनले भने, ‘म मात्रै होइन, मेरा २७ जना अग्नि नियन्त्रकले विगत १३ वर्षदेखि आफ्नो मनमुटुमा दन्केको आगोको प्रवाह नगरी अरूको घर, गोठ, कलकारखाना र वनजंगलमा लागेको आगो निभाइरहेका छन्।’
उनले उमेर छउन्जेल भक्तपुर वारुणयन्त्रमा काम गर्ने, उमेर गइसकेपछि जागिर पनि जाने र बिनासुविधा रित्तो हात घर फर्कनुपर्ने चिन्ताले अग्नि नियन्त्रकहरूलाई सताएको बताए। ‘यो कार्यालयमा कार्यरत युवा कर्मचारीको वृत्ति विकास नै यहाँको प्रमुख समस्या हो,’ धौभडेलले भने। कक्षा १२ उत्तीर्ण गरेका उनीहरूलाई शिक्षा, सेवा अनुभव र तालिमका आधारमा स्थायी गर्न पहल गरिदिनुपर्ने माग उनले गरे। ती अग्नि नियन्त्रकले सुरक्षामा खटिने जवानसरहको तलब, रासन र विभिन्न नगरपालिकाले उपलब्ध गराएको न्यून जोखिमभत्ताका भरमा काम गर्दै आएको धौभडेलले बताए। न्यून सुविधा र करार सेवामा जोखिमपूर्ण काम गर्दै आएका उनीहरूलाई लोकसेवा आयोगसँग परामर्श गरी स्थायी गर्न पाए ठूलो हौसला मिल्ने उनले बताए।
कार्यालयमा ३२ दरबन्दी स्वीकृत रहेकोमा आगो नियन्त्रणतर्फ १५ जना अग्नि नियन्त्रक, चारजना भारी सवारीचालक, दुई हबलदार र दुई क्लिण्डर तथा प्रशासनतर्फ एक नायबसुब्बा, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सहलेखापाल र तीन कार्यालय सहयोगी कार्यरत छन्। कार्यक्रममा उपस्थित गृहमन्त्री रमेश लेखक, गृहसचिव, संघीय सांसद, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसमक्ष धौभडेलले अग्नि नियन्त्रकको दुःखेसो पोखेका थिए। धौभडेलका अनुसार कार्यालयका दमकलले भक्तपुर जिल्लामा मात्र नभई काठमाडौँ उपत्यकाका अन्य जिल्ला र आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखासम्म गएर आगो निभाउने काम गरिरहेका छन्।
कार्यालय भवनको समस्या भन्ने बल्ल समाधान भएको छ। राणाकालमा २००१ सालमा तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा आएको यो जुद्ध बारुणयन्त्रले ८१ वर्षमा बल्ल सुविधासम्पन्न नयाँ भवन पाएको हो। पुरानो, जीर्ण र साँघुरो भवनमा २०७२ सालको भूकम्पले थप क्षति पुर्याएको थियो। जोखिमपूर्ण भवनमा बसेर काम गर्दै आएको अवस्थामा बल्ल नयाँ भवन बनेको हो।
मन्त्रिपरिषद्को निर्णयबाट आगामी ३० वर्षका लागि जुद्ध वारुणयन्त्र भक्तपुरका लागि जग्गा लिजमा प्राप्त भएसँगै सरकारी बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौंले २०७७ साउन ६ गते ठेक्का सम्झौता गरी नयाँ भवन निर्माण सुरु भएको थियो। नयाँ भवनबाट कार्यालयको काम सञ्चालन गर्न पाउँदा खुशी लागेको धौभडेलले बताए। पाँच करोड ७६ लाख ९८ हजार ६५८ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो भवनलाई २०८१ साल कात्तिक १ गते सघन सहरी तथा भवन निर्माण आयोजनाले यो कार्यालयलाई हस्तान्तरण गरेको थियो। त्यही भवन बुधबार उद्घाटन गरिएको हो।
स्थापना कालमा तत्कालीन सरकारले २००१ सालमा उपलब्ध गराएको दमकल (अहिले नचल्ने र नबन्ने अवस्थामा), २०२४ सालमा बेलायत सरकारले उपलब्ध गराएको डेनिस गाडी (मर्मत गरेर चलाउन सकिने), २०३६ सालमा तत्कालीन सरकारले उपलब्ध गराएको म्याग्रस गाडी (इन्जिन फेरेर चलाउन सकिने), २०३२ सालमा सरकारले उपलब्ध गराएको पानी ट्यांकी, २०५८ सालमा सिद्धि स्मृति प्रतिष्ठानमार्फत उपलब्ध जर्मन गाडी, २०७३ सालमा मध्यपुर थिमि नगरपालिका भक्तपुरले खरिद गरी उपलब्ध गराएको टाटा दमकल र २०७९ सालमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा खरिद गरी उपलब्ध गराएको टाटा दमकलमध्ये अहिले मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक तथा चाँगुनारायण नगरपालिकाले उपलब्ध गराएका दुईवटा दमकल, व्याकअपका लागि दुईवटा पानी ट्यांकी र जर्मन गाडी मात्र चालु अवस्थामा रहेको जानकारी कार्यक्रममा दिइयो। अन्य गाडीहरू जीर्ण भएर थन्किएका छन्।
पुराना भई नबन्ने तथा नचल्ने अवस्थामा पुगेका दमकललाई यहाँ एक संग्रहालय बनाएर इतिहासलाई जीवित राख्ने चाहना रहेको जानकारी पनि कार्यक्रममा गराइयो।
प्रकाशित: १४ चैत्र २०८१ ०८:४५ बिहीबार