सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराइएको हो ।
आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन । उपाध्यायका अनुसार यो बिमा एक वर्षका लागि लागु हुनेछ ।
विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलो पटक ३७ जनाले मात्रै आवेदन दिएपछि दोस्रो पटक पुन माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले बर्षेनी सूचना प्रकाशित गरेर आवेदन संकलन गरी बीमा गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको प्रति नेपाल पत्रकार महासङ्घले चिन्ता व्यक्त गरेको छ । महासङ्घको आग्रहमा पत्रकारहरूका लागि संघीय सरकारले लागु गरेको कार्यक्रम प्रभावकारी बन्न नसकेको प्रति उसको चिन्ता छ । 'केही बर्ष अघि यही कार्यक्रम भित्र एक हजार पत्रकारको बीमा गरिएको थियो' महासंघका सचिव रमेश खतिवडाले भने, 'अहिले त्यो संख्या ४६ मा झर्नु दुखद हो।'
प्रदेशहरूमा प्रदेश सरकार र जिल्लाहरूमा स्थानीय तहले समेत पत्रकारहरूका लागि बीमा कार्यक्रम लागु गरेका कारण सहभागिता कम भएको खतिवडाले बताए । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सूचना विभाग र सञ्चार मन्त्रालय सँग छिट्टै छलफल गर्ने उनले बताए ।
प्रकाशित: १० चैत्र २०८१ १३:४७ आइतबार





-600x400.jpg)