११ चैत्र २०८१ सोमबार
image/svg+xml २०:९ अपराह्न
समाज

मनाङको फू गाउँमा सशस्त्र प्रहरीको बीओपी : सीमा सुरक्षा र शान्तिमा जोड

मनाङ हिमाली जिल्ला मनाङ र चीनको सीमामा बोर्डर आउट पोष्ट (बीओपी) बन्ने भएको छ। नार्पाभूमि गाउँपालिकामा सीमा निर्धारण र सुरक्षाका लागि यो कदम चालिएको हो। नार्पाभूमि गाउँपालिका–४ को फू गाउँमा बीओपी राखिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। यो क्षेत्र समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षा बलियो बनाउन बीओपी बनाउन लागिएको बताए। उनले २० रोपनी सरकारी जग्गा सशस्त्र प्रहरीलाई दीर्घकालीन भाडामा दिइएको जानकारी दिए। यो जग्गा सशस्त्र प्रहरीले आवश्यकताअनुसार प्रयोग गर्नेछ।

जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति हिराबहादुर जिसीलाई बिहीबार एक कार्यक्रममा हस्तान्तरण गरिएको छ। ‘फू गाउँ मनाङको विकट ठाउँ हो। यहाँ अहिलेसम्म सडक पुगेको छैन। बीओपी बनेपछि सीमा सुरक्षा, निगरानी र अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा छ,’ आचार्यले भने।

बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी रहनेछन्। नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर चाँडै बीओपी बनाउने योजना छ। आचार्यले यो कदमले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र लेक लाग्ने पर्यटकको उद्धारमा पनि सहयोग पुग्ने बताए। नार्पाभूमि चीनको तिब्बतसँग जोडिएको पालिका हो। फू गाउँ पुग्न चामेबाट दुई दिन लाग्छ। रासस

प्रकाशित: ९ चैत्र २०८१ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App