नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले वर्तमान सरकारका मन्त्रीहरूको मनपरी र प्रधानमन्त्रीको मौनतामाथि कडा प्रश्न उठाएका छन्। मातृभूमि जागरण अभियान, नेपालमार्फत राजनीतिमा सक्रिय रावलले सामाजिक सञ्जालमा लेख्दै सरकारप्रति आक्रोश पोखेका हुन्।
नाफाखोरी रोक्ने कानून हटाएर उद्योगमन्त्री दामोदर भण्डारीमार्फत सिमेन्ट र डन्डीको मूल्य कृत्रिम रूपमा बढाएको आरोप उनको छ। उनले स्वदेशी सुपारी उत्पादकलाई प्रोत्साहन गर्नुको साटो आयात खुला गरिएको र ग्यास उद्योगीको कमिसन घटाउने सुझावविपरीत प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइएकोमा पनि आपत्ति जनाएका छन्।
नेता रावलले उर्जामन्त्री दीपक खड्कामाथि लैनचौरस्थित स्काउटको जग्गा सस्तोमा भाडामा लिएर थप नौ रोपनी कब्जा गरेको र पाँच करोडभन्दा बढी भाडा नतिरेको आरोप लगाए। जनगुनासो चर्किंदासमेत प्रधानमन्त्रीको मौनता रहस्यमय भएको उनको भनाइ छ।
परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको राइसिना डाइलगमा दुई हप्ता बिताएर पनि भारतीय प्रधानमन्त्रीसँग भेट्न नपाएको कुरा पनि उनले उल्लेख गरेका छन्। नेपालको राजनीतिबारे छलफल गरेको भन्ने कुरालाई उनले ‘स्वाधीन देशको कूटनीतिक असक्षमता’ भनेका छन्। परराष्ट्र मन्त्री राणाले भारतबाट फर्किएपछि भारत सरकार नेपालमा सत्ता परिवर्तनको पक्षको नभएको आशयसहितको बयान दिएकी थिइन्।
रावलले गठबन्धन सरकारले ऋण लिन सक्ने अवस्था छैन भने पनि आठ महिनामा ३ खर्ब ३४ अर्ब ऋण लिएको भन्दै यो मनपरी र पाखण्ड हो कि के हो? भन्दै भन्दै जवाफ मागेका छन्।

प्रकाशित: १० चैत्र २०८१ १३:०५ आइतबार